झापा ।
मेचीनगर–१५ ज्यामिरगढीकी रञ्जना राजवंशीको घरमा तीन–चार दिनदेखि नै विवाहको चहलपहल सुरु भएको थियो । जेठी र माइली नातिनीको एकै लगनमा विवाह गर्ने परिवारको निधो पछि यो घरलाई बिहेको चटारोले छपक्कै छोपेको थियो । फेसबुकबाट मन पराएकी जेठी नातिनीका दुलाहा डेबिड गनगाई झापा गाउँपालिकाको टाघनडुब्बाबाट जन्तीसहित बिहीबार साँझपख आइपुगे ।
विज्ञापन
विज्ञापन
माइली नातिनीका दुलाहा मेचीनगर–१० को लालपानीबाट आए । यो समुदायमा रातिको लगनमा बिहे गर्ने चलन छ । त्यही भएर करिब ७ सय बढी निम्तालुबीच दुई नातिनीको भव्य बिहे सम्पन्न भयो । माइला दुलाहा नातिनी लिएर शुक्रबार बिहानै घर लागे । तर, जेठी नातिनीका दुलाहाले हिँड्ने बेलामा अड्को थापे । दाइजोमा टीभी, फ्रिजदेखि सोफासेटसम्मका करिब ४ लाख रुपैयाँको सामान दिइएको थियो । तर उनले मोटरसाइकल नभए दुलही नलागे अड्डी कसे । ‘जाइयासीका रूपमा साइकल दिएका थियौं,’ रञ्जनाले भनिन्, ‘बाइकबिना दुलही लान्न पो भन्यो ।’
दुलाहाले लफडा गरेपछि परिवार र छरछिमेकले प्रहरी बोलाए । प्रहरी आएपछि जन्ती तितरबितर भए । दुलाहालाई इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले पक्राउ गर्यो । उनी प्रहरी नियन्त्रणमा छन् । मध्यम आर्थिक हैसियत भएको यो परिवारले छोरीको बिहेका लागि साहुसँग महँगो ब्याजमा ऋण काढेको थियो । दुवै छोरीको बिहेमा २० लाख रुपैयाँभन्दा बढी खर्च भएको परिवारको भनाइ छ । ‘रातभरिको माहोल रमाइलो भयो, दुलाहाले बाइक मागेपछि बेहुली अन्माउने बेलामा खल्लो भयो,’ नातेदार जीवन धिमालले भने, ‘अहिले हाम्री छोरी लैजाऊ, ४, ५ दिनपछि बाइक किन्दिउँला भन्दा पनि मानेनन् ।’
वैदेशिक रोजगारीमा मलेसियामा रहँदा केही महिनाअघि मात्रै उनीहरू फेसबुकबाट प्रेममा फसेका थिए । महिना दिनअघि विदेशबाट फर्किएपछि उनी युवतीको हात माग्न आएका थिए । दुवै परिवारको सरसल्लाहमै विवाहको निधो भएको थियो । ‘माग्न आउँदा हामीले दाइजोमा मोटरसाइकल दिन सक्दैनौं भनेर प्रस्ट पारेका थियौं, दुलाहाको परिवार मन्जुर भएको थियो,’ हजुरआमा रञ्जनाले भनिन्, ‘तर आज आएर मोटरसाइकल मागेपछि छाँगाबाट खसेझैं भयौ ।’ सामान अपुग भएको भन्दै मोटरसाइकल पनि मागेपछि परिवारले दिन सकेन । अन्तत: उनले दुलही छाडेर जान खोज्दा गाउँलेले पक्राउ गरेर प्रहरीको जिम्मा लगाए । ‘हामीले क्षमताअनुसार साइकल चाहिँ दिएका थियौं,’ रञ्जनाले भनिन्, ‘बाइक नै मागेपछि दिन सक्ने अवस्था रहेन ।’
इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक अनिल मावोहाङले आरोपी प्रहरी नियन्त्रणमा रहेको जनाउँदै दुलहीका परिवारले जाहेरी दिए दाइजो ऐनअन्तर्गत मुद्दा दायर गर्न सकिने जनाए । बयानका क्रममा आरोपीले दाइजो नमागेको दाबी गरेका प्रहरीले जनाएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल/अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न नहुने व्यवस्था छ । ‘दाइजो मागेमा या लेनदेनको सर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना या दुवै सजाय हुनेछ,’ प्रहरी निरीक्षक मावोहाङले भने ।कान्तिपुर
फेसबुक प्रतिक्रियाहरु