काठमाण्डाै ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरूसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्न नहुने बताउनुभयो ।
विज्ञापन
अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरूसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्नुहोस् । हाम्रो शक्तिको जगमा उभिएर नै अरूको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ । स्थिति कमजोर छ भने अनावश्यक रूपमा दाबी गर्ने काम पनि गर्नु हुँदैन ।’
विज्ञापन
अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिस्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताउनुभयो । उहाँले ओलीको घमण्डलाई चकनाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको दाबी गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको कुरा झुटो भएको दाबी गर्नुभयो । उहाँले अध्यक्ष ओलीका साइबर सेनाहरूले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरूको निद्रा खराब भएको बताउनु भयो ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इन्डाेप्यासिफिकको अङ्ग बनाउने कुरा ल्याएको आरोप लगाउनुभयो । उहाँले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इन्डाप्यासिफिकको अङ्ग बन्ने कुरा काटेको बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारिता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताउनुभयो ।
यस्तै अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु