Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • मन्त्री नै ओली भेट्न बालकोट पुगेपछि समाजवादीमा खैलाबैला
समाचार

मन्त्री नै ओली भेट्न बालकोट पुगेपछि समाजवादीमा खैलाबैला

नेकपा एकीकृत समाजवादी पार्टीबाट संघीय मन्त्रिपरिषद्‍मा रहेका केही नेताहरूबारे उक्त पार्टीको एउटा भ्रातृ संगठनका अध्यक्षले गम्भीर कुरा उठाएका छन्।

समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टीबाट संघीय सरकारमा मन्त्री बनेकाहरू अहिले अर्कै पार्टीको अध्यक्षको दैलो धाउन थालेको भन्दै आपत्ति प्रकट गरेका हुन्।

विज्ञापन

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका केही मन्त्रीहरूबारे पराजुलीले सार्वजनिक रुपमै गम्भीर कुरा उठाएपछि समाजवादीभित्रको विवाद पनि सतहमा आएको छ।

विज्ञापन

स्रोतका अनुसार समाजवादीबाट मन्त्री बनेका दुई नेताले एमालेमै फर्किने गरी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमै पुगेर संवाद अघि बढाएका हुन्।

समाजवादीनिकट स्रोतले एमाले अध्यक्ष ओलीसँग श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमालेमै फर्किने गरी छलफलमा जुटेका हुन्।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले पनि ओलीसँग संवादमा रहेको दाबी समाजवादी स्रोतले गरेको छ।

यी दुवैजना मन्त्रीहरु एमालेमै फर्किने गरी सूचना पाएपछि समाजवादीको भ्रातृसंगठन अनेरास्ववियूका अध्यक्ष पराजुलीले त्यसलाई सार्वजनिक रुपमै उठाएका छन्।

समाजवादीबाट मन्त्री भएका केही नेताहरु एमालेमा फर्किने गरी ओलीसँग भेटवार्ता बढाएपछि पराजुलीले सांकेतिक सूचनासहित उनीहरूको विरोध गरेका छन्।

यी दुई नेतामध्ये यसअघि प्रेम आले ओलीकै दोस्रो कार्यकालमा वन मन्त्री भएका थिए। कृष्णकुमार भने ओली सरकारमा मन्त्री हुन नपाएपछि एमाले छाड्दै गठबन्धनमा मन्त्री बनेका हुन्।

समाजवादीमा प्रवेश गरेपछि यी दुवैले आगामी निर्वाचन जित्न कठिन बनेको छ। आलेको गृहजिल्ला डोटीमा कांग्रेसका सुदूरपश्चिम अध्यक्ष वीरबहादुर बलायर दाबेदार हुन्। आलेले अघिल्लो निर्वाचनमा बलायरलाई नै पराजित गरेका थिए।

उता तनहुँमा यसअघि जितेका श्रेष्ठको क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। श्रेष्ठले पनि एमालेबाटै अघिल्लो निर्वाचनमा पौडेललाई हराएका थिए।

यस्तो अवस्थामा अध्यक्ष पराजुलीले एउटा पार्टीमा बसेर राति राति अर्कै पार्टीको नेता (अध्यक्ष) सँग भेटघाट गर्ने कुरा गलत भएको बताएका छन्।

स्रोतका अनुसार पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेको खबर पाएपछि उक्त कुरा सार्वजनिक गरेका हुन्।

पराजुलीले श्रेष्ठ र आलेको गतिविधिबारे टिप्पणी गर्दै दलालसँग सम्बन्ध सुधार गर्न लागि परेको टिप्पणी गरेका छन्।

 

‘मन्त्री र मन्त्रालय आमजनताको हुनुपर्छ। यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुर र कसिलो बनाउनु पर्दछ’, उनले भनेका छन्, ‘तर, यहाँ मन्त्री स्वयम् जनता र कार्यकर्तासँग भन्दा बढी सम्बन्ध दलाल माफियासँग कसिलो बनाउन लालायित देखिन्छन्।’

उनले माफिया र भ्रष्टसँग घाँटी जोड्नेहरूले कसरी समाजवादको जग बसाउने? भनेर प्रश्न गरेका छन्।

‘मन्त्री भएपछि माफिया, दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ’, उनले भनेका छन्, ‘मन्त्री भनेको भुँडी ठूलो बनाउनु र हल्लाउनु होइन, जनताको प्यारो बन्नु र हुनु हो। मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ।’

उनले समाजवादी पार्टीबाट मन्त्री बनेको नेता राति राति अर्को पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जानु झन् गम्भीर रहेको बताएका छन।

उनले अर्को पार्टीको अध्यक्ष भनेर गरेको टिप्पणी एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित छ। उनले यस्तो कार्यशैलीको समीक्षा गर्नुपर्ने पनि बताएका छन्।

‘अर्को गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राति राति अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने! यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समीक्षा गर्नु जरुरी छ,’उनले भनेका छन्।

समाजवादी प्रवक्ता भन्छन् : त्यस्तो होइन

उता एकीकृत समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले पराजुलीले सामाजिक सञ्जालमा लेखेको कुरा गम्भीर भए पनि त्यो स्तरमा कुनै समस्या नरहेको बताएका छन्।

उनले नेपालखबरसँग कुरा गर्दै पार्टीको भ्रातृ संगठनका अध्यक्षले सार्वजनिक रुपमा लेखेको कुरा गम्भीर भएकाले त्यसबारे छलफल गरिने बताए।

‘तपाईंले सुनेको तहमा त्यस्तो कुनै विवाद छैन। मन्त्रीहरु पनि दायाँबायाँ त्यसरी हिँड्नु भएको जानकारी छैन’, उनले  भने, ‘सुदेशजीले किन लेख्नु भयो? बुझ्नुपर्छ। तर पार्टीमा त्यस्तो केही समस्या छ जस्तो लाग्दैन।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस