काठमाडौं ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइराला न यताका न उताका बनेका छन् । संस्थापन इतरबाट अलगिएका पौडेल देउवासँग नजिकिने प्रयास गरेपनि देउवाले स्वीकार्ने अवस्था छैन । बुधबार संस्थापनइतर पक्षले डाकेको बैठकमा पनि शशांक र पौडेल देखिएनन् ।
विज्ञापन
मंगलबार र बुधबार काठमाडौंमा भएको बैठकमा यी दुई नेता नदेखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । १४औँ महाधिवेशनअघिसम्म दुवै नेता संस्थापनइतर पक्षकै हुन् । महाधिवेशनअघिसम्म इतर पक्षको शीर्ष नेता रामचन्द्र थिए । सोही पक्षबाट महामन्त्री बनेका हुन् डा. शंशाक पनि । दुवै नेता अहिले काठमाडौंमै छन् । तर, केही दिनयता संस्थापनइतर पक्षले बोलाएको भेलामा दुवै नेता सहभागी छैनन् ।
विज्ञापन
त्यतिमात्र होइन देउवासँग नजिकिन खोजेका उनीहरूलाई पावर नभएका कारण देउवाले पनि वास्ता गरेका छैनन् । पौडेलपक्षका सबै नेता कार्यकर्ता शेखर समूहमा लागेपछि पौडेल र शशांक बिना सिपाहीका क्याप्टेन जस्तै बनेका छन् । कार्यकर्ता र नेताहरूको साथ् नभएपछि देउवाले पनि उनीहरूको डिमाण्ड पूरा गर्नुपर्ने अवस्था छैन ।
यता संस्थापन इतरको बैठकमा पौडेललाई बैठकमै नबोलाइएको पाइएको छ । महाधिवेशनमा आफ्नो समूह छोडेर देउवालाई सहयोग गरेकै कारण पनि बैठकमा उनीहरूलाई नबोलाइनु र उनीहरूलाई वास्ता नगर्नु हो ।
दुईदिने बैठकमा पदाधिकारीसहित केन्द्रीय समिति सदस्यमा निर्वाचित र पराजित नेताहरू सहभागी थिए । बैठकले पार्टीभित्र सशक्त प्रतिपक्षको रूपमा डा. शेखर नेतृत्वको इतर पक्ष प्रस्तुत हुने झल्को दिने खालका निर्णय भएका छन् ।
बैठकमा सभापति शेरबहादुर देउवाले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेकोप्रति औँला उठाइएको छ । विधि, विधान र मापदण्डपूर्वक काम गर्न सचेत गराइएको छ । देउवा संस्थागत ढंगले नचलेको आक्षेप पनि लगाइएको छ ।
एक नेताले उनीहरूलाई नबोलाइएको मात्रै बताएका छन् । नबोलाउनुको कारणबारे थप खुल्न चाहेनन् । उनले भने, ‘अहिले यत्ति भनौँ कि उहाँहरूलाई हामीले बोलाएनौँ ।’
नेताद्वयलाई बैठकमा नबोलाउनुको कारण नेता केसीले नभने पनि त्यसबारे ठम्याउन सकिने आधारहरू भने छन् । जसका लागि हालै सम्पन्न १४औँ महाधिवेशनको सन्दर्भ कोट्याउनु आवश्यक हुन्छ ।
महाधिवेशनमा मतदानको ठीक अघिल्लो दिन २६ मंसिरको साँझसम्म वरिष्ठ नेता रामचन्द्रले नेतृत्व गरेको इतर पक्षमा सभापतिको साझा उम्मेदवार तय गर्ने कसरत भयो । जुन सफल हुन सकेन । यतिसम्म कि देशभरबाट आएका इतरपक्षका नेता कार्यकर्तासँगै महाधिवेशन प्रतिनिधिहरूले साझा उम्मेदवार तयार गर्न चर्को दबाब थिए । नाराबाजीसमेत गर्न भ्याए । तर, साझा उम्मेदवार तयार भएन ।
डा. शेखर र पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापतिमा प्रतिस्पर्धा गरेरै छाड्ने निधोमा पुगे । जबकि, रामचन्द्र स्वयं पनि साझा उम्मेदवार हुन चाहन्थे । तर, न उनको नाममा सहमति जुट्यो न प्रकाशमान र डा. शेखरकै नाममा ।
सहमति नजुटेपछि मतदान हुने दिन २७ मंसिरको बिहान वरिष्ठ नेता रामचन्द्रले विज्ञप्ति जारी गरे । जहाँ ‘महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा हुने देखिएको’ भन्ने उनको निष्कर्ष थियो । यो निष्कर्षका आधारमा महाधिवेशनको प्रक्रियाबाट अलग भएको स्पष्टीकरण विज्ञप्तिमा थियो ।
पौडेलको असन्तुष्टिका बाबजुद कोइराला र सिंह दुवैजना सभापतिको उम्मेदवार बने । शेखर केही मतले दोस्रो बने भने सिंह भारी मतान्तरका साथ तेस्रोमा सीमित रहे ।
तर, आफ्नो इच्छाअनुसार उम्मेदवार तय हुन नसकेपछि मतदानमा गएनन् । उनले डा. शेखर प्यानललाई मत पनि मागिदिएनन् । तटस्थ बसे । सोही दिन सभापतिका उम्मेदवार देउवा भने रामचन्द्र निवास बोहराटार पुगे ।
जहाँ पुगेर देउवाले राजनीतिबाट टाढा नरहन र देशलाई पौडेलको भूमिका आवश्यक रहने बताए । यसरी पौडेलले इतर पक्षकै सभापतिका उम्मेदवार डा. शेखरलाई न मत दिए न मागी नै दिए ।
डा. शशांकले पनि दाजु शेखरको पक्षमा मत मागिदिएनन् । १३औँ महाधिवेशनमा शशांकलाई डा. शेखरले सहयोग गरेका थिए । तर, यसपटक डा. शशांक तटस्थ नै बसे ।
यस्तो अवस्थाबीच डा. शशांक देउवा प्यानलमा केन्द्रीय सदस्यमा अटे । डा. शेखरको प्यानलमा त थिएन नै । यसरी दुवै प्यानलमा रहेका डा. शेखरले केन्द्रीय सदस्यमा दोस्रो बढी मत प्राप्त गरेर विजयी भए ।
दाजु डा. शेखर भने सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवासँग पराजित भए । पराजित भएपछि २८ मंसिरको बेलुकी पत्रकार सम्मेलन गर्दै परिणाम स्विकार्ने मात्रै बताए । तर, सञ्चार माध्यमहरूमा अन्तर्वार्ता दिने क्रममा डा. शेखरले वरिष्ठ नेता रामचन्द्र र डा. शशांकबाट महाधिवेशनमा असहयोग भएको बताउँदै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु