काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई पाँच वटा अलच्छिन भएको बताएका छन्। सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले गठबन्धनप्रति आक्रोश व्यक्त गरेका हुन्।
आफ्नो सम्बोधनमा सर्वोच्च अदालतले परमादेशप्रति असन्तुष्ट सुनिएका उनले त्यसको प्रभाव देखाउन बैंकको अहिलेको अवस्थाको चित्रण गरेका थिए। ‘छ महिनामा बैंकमा पैसा छैन। ऋण माग्न जानुभयो भने पैसा पाइँदैन, धरौटीसरौटी जेसुकै राख्नुस्। यत्रोविघ्न आयोजना किन काट्नुपर्यो? बजेट छुट्याएको छ। सबै निर्दिष्ट बजेट छ। तर पनि चल्न नसक्ने, गर्न नसकिने, खर्च गर्न नसकिने भनेर किन ढाँट्नुपर्यो,’ ओलीले भने, ‘मान्छेहरुले कहिले-कहिले अलच्छिन पस्यो भन्छन् नि। अलच्छिन पसेर यस्तो भएको हो। पाँच वटा अलच्छिन एकैपटक पसेपछि ढिकुटीको हालत के भयो होला?’
विज्ञापन
आफ्नो सम्बोधनमा ओलीले आफूले राम मन्दिर बनाउन पहल लिएकोदेखि पशुपतिमा सुनको जलहरी राख्ने कामकोसमेत चर्चा गरेका थिए।
विज्ञापन
‘अलच्छिन’को कुरा ओलीले २०७३ सालमा पनि गरेका थिए। त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए। मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत २०७३ फागुन २९ गते भैरहवा पुगेका उनले त्यहाँ सम्बोधन गर्दै भनेका थिए- ‘यस्तो सरकार बनेको छ, तपाईंहरुलाई थाहा छ। यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन।’
कम्युनिस्ट राजनीतिमा आफ्नो जीवनको सम्पूर्णजसो समय बिताएका व्यक्तिले लच्छिन र अलच्छिनको चर्चा गरेकोमा उनको आलोचना भएको थियो। तर त्यसलाई उनले खासै वास्ता गरेका छैनन्। बरु आजकै कार्यक्रममा पनि उनले आफूलाई ‘वामपन्थी होइन, रामपन्थी’ भन्नेहरुलाई जवाफ दिएका थिए।
फेसबुक प्रतिक्रियाहरु