झापा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृह जिल्ला झापा १ हजार ३ सय ५६ जनालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन्।
विज्ञापन
अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका लिङ्देनले शनिवारदेखि सोमबारसम्ममा १३५६ जनालाई राप्रपामा प्रवेश गराएका हुन्। शनिवार बिर्तामोडमा ४५६ जना राप्रपामा प्रवेश गरेका थिए।
आइतबार झापा क्षेत्र नं ५ को गौरीगंज,गौरादह,कमल र दमकमा आयोजित अलगअलग कार्यक्रममा २ सय जना राप्रपामा प्रवेश गरेका थिए। सोमबार भद्रपुरबाट नेपाली कांग्रसका अगुवा बिकेन्द्र मेन्याङ्बोलगायत विभिन्न दलबाट ५२३, कचनकवलबाट ३६ जना र बाह्रदशी ३ राधानगर र कुटु बस्तिबाट १३७ जना समेत गरेर करिब ७०० जनाले कांग्रेस, एमाले, मावोवादी दल परित्याग गरि राप्रपा प्रवेश गरेका राप्रपा झापाले जनाएको छ।
ओलीको चुनाव क्षेत्रमा लिङ्देनको प्रभाव, एकै पटकमा एमालेका ४ सय कार्यकर्ता राप्रपामा प्रवेश गराए
नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उद्घाटन सत्रमा लिङ्देनले ‘नेतालाई गाउँघरमा चोर भनिने’ अभिव्यक्ति दिएपछि ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका थिए । ओलीले भनेका थिए, ‘ भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलिकति कुद्छ !’
लिङ्देन र ओली तिनै नेता हुन्, जसले यसअघि एकअर्काको सहयोगमा झापामा चुनाव जितेका थिए । अहिले ओलीले लिङ्देनलाई ‘बाच्छो’को संज्ञा दिएपछि अब उनीहरुको सम्बन्ध कस्तो होला र आगामी चुनावमा झापामा राप्रपा र एमालेको सहकार्य होला कि नहोला भन्ने चासो बढेको छ ।
यही चासो र चर्चाकै बीच राप्रपा अध्यक्ष लिङ्देन यतिबेला गृहजिल्ला झापा पुगेका छन् । शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए ।
यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता– कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन ।
६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
राप्रपा गौरादह नगर कमिटी अध्यक्ष शान्तिराम पौडेलले झापामा पार्टी अध्यक्षको मंगलबारसम्म कार्यक्रम रहेको रातोपाटीलाई बताए । विशेषतः कार्यकर्ता भेला, पार्टी प्रवेश र सम्मान कार्यक्रममा लिङ्देनको सहभागिता भएको उनको भनाइ छ । गौरीगञ्ज, दमक, कमललगायतका स्थानमा कार्यक्रम गरिएको र जनसहभागिता उत्साहजनक रहेको उनको भनाइ छ । यो क्रम मंगलबारसम्म जारी रहने उनको भनाइ छ ।
ओलीको अभिव्यक्तिबाट राप्रपा कार्यकर्ता असन्तुष्ट
राप्रपा र एमालेबीच झापामा सहकार्य भए पनि ओलीले विगतलाई भुलेर राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’ भन्नु गलत भएको झापाका राप्रपाका कार्यकर्ता बताउँछन् । पौडेलले पनि ओलीबाट जुन अभिव्यक्ति आयो, त्यो राजनीतिक नभएको प्रतिक्रिया दिए । उनले भने, ‘एमालेजस्तो राष्ट्रिय पार्टी हुन नसकेता पनि आम रुपमा हाम्रो पनि ७७ जिल्लामा संगठन छ । यति तल पारेर भन्न हुन्थेन कि भन्ने हो । दिल्लीमा विगतमा एक सिट पनि नजितेको आम आद्मी पार्टीले अहिले बहुमत ल्याएर शासन गरिरहेको अवस्था छ । कुनै बेला नरेन्द्र मोदीको भाजपा पनि कमजोर थियो । अहिले कमजोर रहेको राप्रपा पनि भोलि एक सिटमात्रै जितेर बसिरन्छ भन्ने छैन ।’
झापाको मतदाताको सन्तुलन नै विशिष्ट भएकाले एकापसमा सम्झौता गर्नुपर्ने अवस्था रहेको स्थानीय नेताहरु बताउँछन् । ०६४ को चुनावमा बहुमत नजिक ल्याएको माओवादी ०७० मा आइपुग्दा तेसो पार्टी बनेको दृष्टान्त प्रस्तुत गर्दै उनले राप्रपालाई पनि सही दिशा दिन सकिने र कसैले पनि कसैलाई होच्याइनु ठीक नहुने पौडेलले बताए ।
यद्यपि ओलीको अभिव्यक्तिकै कारणले झापामा एमाले–राप्रपाबीचको सहकार्यमा असर पुग्छ भनेर भनिहाल्न भने नमिल्ने उनको तर्क छ । ‘राजनीतिमा शत्रु र मित्र भन्ने कुरा त हुँदो रहेनछ’, पौडेलले भने, ‘आउने स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कोसँग अलाइन्स हुन्छ भन्न त सकिँदैन । तर, यही अभिव्यक्तिले एमालेसँग सहकार्य गर्न असर पुग्छ भन्ने छैन ।’
यस्तो छ झापामा ओली–लिङ्देनको हिसाब–किताब
०७४ को चुनावमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४४ हजार ६१४ मतका साथ झापा क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । उनले एमालेकै सहयोगका काँग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई पराजित गरेका थिए । पराजित सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । जहाँ एमालेको समानुपातिक मत १९ हजार ८२९ थियो भने राप्रपाले चाहिँ समानुपातिकतर्फ १६ हजार १६८ पाएको थियो । यसरी हेर्दा एमालेका करिब १९ हजार मतदाताले लिङ्देनलाई मतदान गरेका थिए ।
यसैगरी झापा क्षेत्र नम्बर ५ बाट चुनाव जितेका ओलीले ५७ हजार १३९ मत पाएपनि त्यसमा राप्रपाको उल्लेख्य मत जोडिएको थियो । झापा ५ मा राप्रपाको समानुपातिकतर्फको मत ९ हजार ५९ थियो । यसरी हेर्दा राप्रपाका करिब ९ हजार कार्यकर्ताले केपी ओलीलाई मतदान गरेका थिए ।
त्यतिबेला तत्कालीन माओवादीसँग चुनावी तालमेल भएकाले ओलीले माओवादीको करिब ६ हजार भोट पनि पाएका थिए । यसरी हेर्दा झापामा लिङ्देन र ओलीलाई चुनाव जित्न एकअर्काको सहयोगले सहजता प्रदान गर्छ ।
शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा लिङ्देनले राप्रपा सानो छाती भएको पार्टी नभएको बताएका थिए । यस्तै उनले आफ्नो ध्यान मूलतः संगठन सुदृढीकरण र हिन्दुराष्ट्र एवं राजसंस्थाको एजेण्डालाई सशक्त बनाएर लैजाने बताएका थिए ।
फेसबुक प्रतिक्रियाहरु