श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेले जनताको विश्वास नचाहेको आरोप लगाएका छन्।
गृहजिल्ला तनहुँमा शनिबार आयोजित एक कार्यक्रममा एमालेले जनताको विश्वासभन्दा कुम्भ मेलामा रमाउने गरेको पनि उनले बताएका छन्।
विज्ञापन
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतमाथि खेलबाड गरेको पनि उनले बताए।
चितवनको सौराहामा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनलाई उनले कुम्भ मेलाको संज्ञा दिए।
‘अघिल्लो निर्वाचनमा देशभरका जनताले करिब दुई तिहाइ मत दिएर कम्युनिष्ट पार्टीलाई सरकार चलाऊ भनेर मत दिइरहँदा घमण्डी र पाखण्डी नेताहरूले दुई दुई पटकसम्म संसद विघटन गरेर जनताको मतलाई अपमान गरे’, उनले भने, ‘एमालेलाई अब गाउँगाउँमा पुगेर भोट माग्ने कुनै अधिकार छैन। यसकारण एमालेलाई जनताको विश्वास चाहिएको छैन्, चाहिएको छ त कुम्भ मेला।’
मन्त्री श्रेष्ठले एमालेले राष्ट्रिय महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास गर्न नसकेको पनि बताए।
‘चितवन महाधिवेशन कोटको खल्तीबाट नाम सरररररर्र पढेर सकियो’, उनले भने, ‘कमरेड भीम रावल, घनश्याम भूसाललगायतले यस्तो काम हुँदैन हामी चुनाव लड्छौँ भन्दा धम्क्याउने, तर्साउने काम गरे। कहाँको प्रजान्त्रिक अभ्यास हो यो?’
फेसबुक प्रतिक्रियाहरु