शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावलले अध्यक्षमा उठ्छु भनेपछि एमालेको प्रतिनिधि छनोटमै ‘गडबड’
समाचार

भीम रावलले अध्यक्षमा उठ्छु भनेपछि एमालेको प्रतिनिधि छनोटमै ‘गडबड’

कैलालीको क्षेत्र नम्बर २ मा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले कात्तिक ३० गते ९ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो।

तर, ओली पक्षले एकलौटी महाधिवेशन प्रतिनिधि छानेको र आफ्नो पक्षका प्रतिनिधि नपरेको भन्दै उपाध्यक्ष भीम रावलले विरोधमा विज्ञप्ति नै जारी गरे।

विज्ञापन

‘दसौँ राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो,’ रावलले भने, ‘तर कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णयविपरीतका क्रियाकलाप भए। कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा चरम स्वेच्छाचार भयो। प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रियाबिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ।’

विज्ञापन

यसविरूद्ध १२ सयभन्दा बढी पार्टी सदस्यले हस्ताक्षर गरी उजुरी गरेको रावलको भनाइ छ।

रावल यतिमै रोकिएनन्। उनले कैलाली–२ बाट समानान्तर रुपमा अरु ९ जना प्रतिनिधि पनि चयन गरेर पठाएका छन्। रावलको समूहले मंसिर १ गते नयाँ प्रतिनिधि चयन गरेर पठाएको घोषणा गरेको हो।

अन्यत्र पनि महाधिवेशन प्रतिनिधि छनोटमा ओली पक्षले विधिविधान मिचेको, सर्वसम्मतिका नाममा एकलौटी गरेको आरोप लागिरहेको छ। खासगरी पहिले माधव नेपाल निकट रहेका तर विभाजनको घडीमा एमालेमै बस्ने निर्णय लिएका १० नेताहरु प्रतिनिधि छनोटमा असन्तुष्ट छन्।

बागमती, सुदूरपश्चिम र गण्डकीमा यी नेताहरुको प्रभाव राम्रो छ। अन्यत्रका केही जिल्ला, केही निर्वाचन क्षेत्रमा पनि उनीहरुको उपस्थिति बलियो छ। तर, प्रतिनिधि चयनमा सबैतिर ओली पक्ष हाबी भएको र आफ्नो पक्षका प्रतिनिधि कटौती भएको नेताहरु बताउँछन्। स्थायी कमिटी सदस्य रघुजी पन्तले देशभर प्रतिनिधि छनोट निष्पक्ष नभएको गुनासो गरे।

प्रतिनिधि छान्दा ओली पक्षले किन एकलौटी गर्यो त? यसबारे  जिज्ञासा राख्दा ओलीनिकट केही नेताहरुले रावलतिरै औँला सोझ्याए।

निर्विरोध अध्यक्ष चयन हुने योजना बनाएका ओलीलाई चुनौती दिने रावलको भनाइपछि प्रतिनिधि छनोटमै ओली पक्षले शक्ति प्रदर्शन गरेको उनीहरुको भनाइ छ।

ओलीले विधान महाधिवेशनबाटै आफूलाई निर्विकल्प अध्यक्षका रुपमा प्रस्तुत गरेका छन्। नेतृत्वका दाबेदार मानिएका कुनै पनि एमाले नेताले अध्यक्षमा उठ्ने घोषणा गरेका थिएनन्। तर, कात्तिक २३ मा अछामको साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्षमा उठ्ने बताएका थिए।

एमाले महाधिवेशन प्रतिनिधि चयन सुरु भएकै बेला रावलको सो अभिव्यक्ति आएको थियो। औपचारिक रुपमा कात्तिक २७ गतेदेखि प्रतिनिधि छनोट प्रक्रिया सुरु गरिए पनि त्यसअघिदेखि नै विभिन्न स्थानबाट निर्विरोध प्रतिनिधि चयन भइरहेका थिए।

रावलको सो भनाइपछि परिस्थिति फेरिएको ओलीनिकट एक नेताले दाबी गरे।

‘रावल कमरेडलाई दसौँ महाधिवेशनबाट पनि एमालेको पदाधिकारीमै अटाउने चाहना अध्यक्ष कमरेडले राख्नुभएको थियो,’ उनले  भने, ‘जब उहाँले अध्यक्षमा उठ्ने घोषणा गर्नुभयो, अनि परिस्थिति अर्कै बन्यो।’

ओलीलाई शक्तिशाली अध्यक्ष बनाउन चाहेका नेता/कार्यकर्ताले रावलको अभिव्यक्तिपछि सक्रियता बढाएको उनको भनाइ छ। उनले यसबारे सर्कुलर नै भएको हुनसक्ने संकेत गरे।

‘आन्तरिक रुपमा पार्टीको अहिलेको लाइन, चाहना र टिमको विषयमा सूचना सर्कुलर गरियो होला, कतिले व्यक्तिगत रुपमा पनि भूमिका खेलेको हुनसक्छ,’ ती नेताले सुनाए।

रावलले भने यस विषयमा आफू अझै छलफलमा रहेको बताए।

‘अहिले म महाधिवेशनको प्रतिनिधि छनोटको विषयकै छलफलमा छु,’ रावलले भने, ‘छलफल कस्तो हुन्छ त्यसपछि आफ्ना धारणा सार्वजनिक गर्नेछु।’

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीभित्र देखिएका समस्या छलफलबाटै समाधान हुने दाबी गरे।

‘पार्टीभित्र समस्या उठ्छ, ती समस्या बसेर छलफल गरेपछि समाधान हुन्छ, कोही व्यक्ति विशेषलाई लिएर यसलाई ल्याउने उसलाई नल्याउने भन्ने हुँदैन,’ तामाङले भने, ‘कोही गुट, समूह भनेर पनि ल्याउने कुरा भएन। अहिले हाम्रो पार्टी एक छ, गुट बन्ने सम्भावना पनि छैन।’

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि एक हजार ८ सय ९९ सय प्रतिनिधि छनोट भइसकेका छन्।

बाँकी सय जनालाई पार्टीले मनोनयन गरेर प्रतिनिधि बनाउने एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव तामाङले जानकारी दिए।

उनका अनुसार केही ठाउँ र निर्वाचन क्षेत्रबाहेक सबैतिर सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।

‘१९९९ प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयबाहेक सबै चयन भइसकेका छन्,’ तामाङले भने, ‘निर्वाचन क्षेत्रका १/२ स्थानबाहेक सबैतिर सर्वसम्मत छानिएको छ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस