आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा ‘१० भाइ’ समूहको विद्रोह, ओलीपक्षको निर्णय लत्याइयो
समाचार

कैलालीमा ‘१० भाइ’ समूहको विद्रोह, ओलीपक्षको निर्णय लत्याइयो

महाधिवेशन प्रतिनिधि छनौटमा देशैभर बढारिएको नेकपा एमालेको ‘१० भाइ’ समूहले कैलालीमा भने संस्थापनको निर्णय अस्वीकार गरेको छ । सर्वसम्मतिका नाममा प्रतिनिधि छनौटमा ओलीपक्षले एकलौटी गरेको भन्दै सो समूहले छुट्टै भेलासमेत बोलाएको छ ।

पाँच वटा संघीय निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नम्बर २ मा हिजो ओली पक्षले नौ जना महधिवेशन प्रतिनिधि छनौट गरेको घोषणा भएको थियो । त्यसलाई चुनौती दिँदै लम्किचुवा नगरपालिकाका मेयरसमेत रहेका एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महादेव बजगाईंले आज छुट्टै भेला बोलाएका हुन् । भेलाले छुट्टै प्रतिनिधि चयन गर्ने बताइएको छ ।

विज्ञापन

बजगाईंले छुट्टै भेला बोलाएको पुष्टि गरेका छन् । प्रतिनिधि चयनमा ओलीपक्षले एकलौटी गरेपछि अर्को भेला बोलाउनु परेको उनले दाबी गरे । उनका अनुसार प्रतिनिधिका लागि ४१ जनाको उम्मेदवारी परेको थियो । तर, ओलीपक्षले सर्वसम्मतिका नाममा आफू अनुकूल हुने गरि प्रतिनिधि छनोट गरेपछि अर्कोपक्ष अलगै भेला गर्न बाध्य भएको हो ।

विज्ञापन

‘प्रतिनिधिका लागि ४१ जनाको उम्मेदवारी परेको थियो । तर, न सहमति भयो न निर्वाचन । यहाँबाट धनगढी गएर होटलको कोठामा सीमित व्यक्ति बसेर उहाँहरुले प्रतिनिधि चयन गर्नुभयो । त्यसलाई स्वीकार गर्न सकिँदैन भन्ने कार्यकर्ताको कुरो आएपछि हामीले छुट्टै भेला बोलाएका हौँ । हामी अर्को प्रतिनिधि छनोट गर्छौँ’, उनले भने ।

एमाले जबज र प्रतिस्पर्धाको श्रेष्ठतामा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनमाफर्त नै प्रतिनिधि चयन गर्ने पनि उनको भनाइ छ । बजगाईंले ओली पक्षले पार्टीको लेटरप्याड दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् । जिल्ला अध्यक्ष रतन थापाको नेतृत्वमा पार्टीका नाममा मनपरी निर्णय गरिएको भन्दै उनले आक्रोश पोखे ।

बजगाईं उपाध्यक्ष भीम रावल निकट मानिन्छन् । पछिल्लो समय १० बुँदे कार्यान्वयनलाई लिएर रावल र अध्यक्ष ओलीबीच विवाद छ । कैलाली–२ मा छुट्टै भेला बोलाउने निर्णयलाई सोही विवादसँग जोडेर हेरिएको छ । तर मेयर बजगाईंले भने यसमा उपाध्यक्ष रावलको कुनै भूमिका नरहेको बताए ।

‘भीम कमरेडको कुरा हैन, कार्यकर्ताको मागअनुसार भेला गर्न लागिएको हो’, उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस