नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।
विज्ञापन
माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
माओवादी केन्द्रले पछिल्लो समय संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै आएको छ । सोही अनुसार जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउन र जिम्मेवारी पाएकाहरुबाट प्रभावकारी परिणाम हासिल गराउन पार्टीले ‘एक व्यक्ति एक पद’ को अवधारणालाई लागू गरेको जनाइएको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन यता पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामात्र नभई उपत्यका बाहिरका जिल्लामा समेत सहभागी भएका छन् । सोही धपेडीका कारण सुगर र प्रेसर बढेर सामान्य अस्वस्थ भए पनि उनले शुक्रबार पार्टीको केन्द्रीय कमिटीको बैठकको अध्यक्षता गरेको एक नेताले बताए ।
भर्चुअल माध्यमबाट बसेको सो बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन भने गरेनन् । यद्यपि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै आएको बताइएको छ ।
‘केही दिन यताको निरन्तर धपेडीले गर्दा स्वास्थ्यमा सामान्य समस्या भए पनि अहिले उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक छ,’ स्रोतले भन्यो, ‘शुक्रबार बैठकको अध्यक्षता नै गर्नुभयो ।’
फेसबुक प्रतिक्रियाहरु