काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति सञ्चय बढाउँदै लगेका छन् । उनी झन् झन् शक्तिशाली बन्दैछन् ।
विज्ञापन
प्रचण्डले माओवादीलाई सरकारमा महत्वपूर्ण मन्त्रालय दिलाउन सकेका छन् । अर्थ र ऊर्जा जस्ता मन्त्रालय माओवादीले चलाइरहेको छ । सरकारमा पनि माओवादीको बलियो प्रभाव देखिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा भएका कतिपय नियुक्ति खारेज भइसकेका छन् । अब संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्ति मात्र बाँकी छ । त्यो पनि खारेज गराउन प्रचण्डले अदालतमा अप्रत्यक्ष रुपमा दबाब बढाउँदै लगेका छन् ।
प्रचण्डले नेकपा बन्दा ओलीसँग असन्तुष्टलाई साथमा लिन सकेका थिए । माधवकुमार नेपालसहित असन्तुष्ट समूह एमालेबाट अलग भइसकेको छ । यसमा प्रचण्डको रणनीतिले भूमिका खेलेको थियो । एमालेका कतिपय नेताहरुले प्रचण्डमाथि आफ्नो पार्टी तहसनहस पारेको आरोप लगाउँदै आएका छन् ।
प्रचण्डले माओवादी ब्युँतिएपछि नेकपा एससँग कार्यगत एकता गरिरहेका छन् । माओवादी र नेकपा एस सँगै चुनाव लड्ने सम्भावना बलियो छ ।
अर्कोतर्फ, पूर्वमाओवादीलाई मिलाउन प्रचण्ड सक्रिय छन् । त्यसमा बाबुराम भट्टराई, उपेन्द्र यादव, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरणलगायत पूर्वमाओवादी सकारात्मक छन् । नयाँ ढंगले एकता हुनुपर्नेमा उनीहरुले जोड दिइरहेका छन् ।
आगामी चुनावलाई दृष्टिगत गरी प्रचण्डले शक्ति सञ्चय गरिरहेका छन् । उनले महत्वाकांक्षी योजनाका साथ अन्य दलसँग एकता वा गठबन्धन निर्माणको रणनीति बनाएका छन् । जुन सार्वजनिक रुपमा समेत बोलिसकेका छन् । प्रचण्डले रणनीतिक चार्तुयताका साथ शक्ति सञ्चय गर्दै जानुले राजनीतिमा नयाँ घटनाक्रम विकास हुने देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु