भरतपुर । भरतपुरका पुष्प व्यवसायी सागर तामाङले यो पटकको तिहारमा १० हजारको माला विक्रि गरेका छन् । उनका अनुसार जाडो चाँडै सुरु हुँदा फूलमा फङ्गस लागेर चाँडै ओइलिदा कम उत्पादन भएको हो । अघिल्लो वर्ष उनले सोही क्षेत्रफलमा लगाइएको फूलबाट २० हजार बढीको व्यापार गरेका थिए ।
उज्वल नर्सरी भरतपुर ७ का शुलभ श्रेष्ठले व्यवसाय सन्तोषजनक रहेको बताए । करिव ३ विघा क्षेत्रफलमा आफै फूलखेती गरेका श्रेष्ठले अन्य व्यवसायीहरुबाट पनि फूल खरिद गरेर यस पटकको तिहारमा विक्रि वितरण गरेको बताए ।
विज्ञापन
उनले ३० हजार भन्दा बढीनै माला विक्रि गरेको बताए । यसरी यो पटक मात्रै आफूले करिव २५ लाख वरावरको कारोवार गरेको उनको भनाई छ । तर हिजै मात्र तिहार सकिएकाले हिसाव किताव पूरा नहुँदा यत्तिनै भयो भनेर एकीन गर्न भने नसकिएको उनको भर्नाइ छ ।
फ्लोरि कल्चर एशोसियसन चितवनका कोषाध्यक्ष समेत रहेका श्रेष्ठले २० देखि २२ जना कामदार राखेर फूल खेती गरिरहेका छन् ।
रोपेको ९० दिनमा सयपत्री फूल टिप्न लायक हुन्छ तर कृषकहरुमा व्यवहारिक ज्ञानको कमीले गर्दा यस पटक तिहारसम्ममा फूल रोपेको १२० दिन पुग्दा फूल चाँडै फूलेर केही नोक्सान व्यहोर्नु परेको उनको भनाई थियो । त्यतिमात्रै नभएर पछिल्लो समय आएको वर्षातले गर्दा कोपिला लागिसकेका फूलहरु तुरुन्तै कुहिएर झर्दापनि फूल उत्पादनमा केही कमी आएको उनले जानकारी दिए ।
चितवनलाई पुग्ने माला यहीका पुष्प व्यवसायीहरुले पुर्याउने लक्ष्य राखिएपनि यो तिहारमा भारतबाट १ लाख माला भित्रिएको उनको अनुमान छ । चितवनका लागि करिव ५ लाख माला आवश्यक पर्ने बताउँदै उनले भने,“भारतबाट माला जवरजस्ती आएको होइन । हामीले नै पुर्याउन नसक्ने अवस्थाले गर्दा माला भित्रिएको हो । ”
चितवनमा पुष्प खेतीको भविष्य राम्रो रहेको भन्दै उनले भने,“अहिले खेती लगाउने कृषकले तिहार लक्षित मात्रै नभई ३६५ दिननै फूल लगाउन पर्छ । किनकी यहाँ फूलको तिहारमा मात्रै नभई सदावहर माग भइरहन्छ । अव हामीले तुरुन्तै फूलको बारी जोतेर नाश गरेमा यो वीचमा आवश्यक पर्ने फूलहरु फेरि भारतबाट नल्याइ अर्को विकल्प छैन । ”
फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका अध्यक्ष अमर घलेले आफूहरुले आकलन गरेको बरावरनै चितवनमा फूल उत्पादन भएको बताए । उनका अनुसार साँढे २ लाख माला चितवनमा उत्पादन भएको र ढेड लाख हाराहारीमा बाहिरी जिल्ला र भारतबाट आयात भएको छ । चितवनमा उत्पादन भएको फूलको माला प्रतिगोटा सरदर रु.८० रुपैया पर्न जान्छ । २ लाख ५० हजार मालालाई ८० रुपैयाका दरले विक्रि वितरण गर्दा यो पटक मात्रै करिव २ करोड बरावरको कारोवार भएको देखिन्छ ।
चितवनमा व्यवसायीक रुपमै वाह्रै महिना फूल खेती गर्नेको संख्या करिव १२ जना मात्रै भएपनि तिहार लक्षित फूल खेती गर्नेहरुको संख्या एक सय देखि डेढ सयको हाराहारीमा रहेको घलेले बताए ।
अव आउने दिनमा यी सवैलाई सदावहार फूल खेती गर्न प्रोत्साहित गरिने र चितवनलाई फूल खेतीको हब बनाउने उनको योजना छ । जग्गा पाइने हिसावले र मौसमको हिसावले हेर्दा चितवनलाई सदावहार फूल खेती भइरहने उपयुक्त स्थानको रुपमा लिने गरिन्छ ।
अव आउने दिनमा संगठीत रुपमा फूलखेती गर्ने किसानको संख्या ५० भन्दा माथि पुगेपछि सरकारसँग आवश्यक बजेट तथा कार्यक्रमको माग गरिने घलेले बताए ।
चितवनमा ‘एक व्यवसायी एक उत्पादन’ को नाराले फूल खेती गरिने उनको भनाई थियो । अहिले खासगरी दुई प्रजातीको सयपत्री फूलमा चितवनमा उत्पादन गरिएको छ । धेरै जसो उत्पादन भने कलकत्ते सयपत्री फूल रहेको छ । त्यसका अलवा थाइल्याण्ड भेराइटी जातको फूल समेत यस पटक उत्पादन गरिएको हो ।
कलकत्ते भन्दा थाइल्याण्ड भेराइटी महङ्गो हुने भएकाले बजारमा विक्रि गर्न अलि समस्या रहेको घलेले बताए । तर यो प्रजातीको फूल रोगनिरोधक समेत हुने भएकाले महङ्गो पर्न जाने उनको भनाई थियो । घले भन्छन्,“कलकत्ते एक विरुवाको दुई रुपैँया पर्छ भने थाइल्याण्ड भेराइटी चार रुपैया पचास पैसा पर्न जान्छ । ”
चितवनको पदमपुर,प्रेमवस्ती,दिव्यनगर,रामपुर,मंगलपुर लगायतका स्थानमा पुष्प खेती गरिदै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु