शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • जबज ‘फेज आउट’ भयो, एमालेको नेतृत्व लिन म योग्य छु : घनश्याम भुसाल
समाचार

जबज ‘फेज आउट’ भयो, एमालेको नेतृत्व लिन म योग्य छु : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले ‘जसको नीति उसकै नेतृत्व’को सिद्धान्त अनुसार मंसिरमा हुन लागेको दशौँ महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्।

एमालेको नवौँ महाधिवेशनले आफ्नै विचारलाई अंगालेर अघि बढेको अवस्थामा भुसालले अब नेतृत्वमा पनि प्रतिस्पर्धा गर्न आफूलाई तयार पारिरहेको संकेत उनले आइतवार केही पत्रकारमाझ गरे।

विज्ञापन

असोज १५-१७ सम्म काठमाडौंमा भएको विधान महाधिवेशनपछि एमालेमा केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्षका रुपमा अघि बढेको चर्चाबीच उपमहासचिव भुसालले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरु नेतृत्वमा जान योग्य रहेको उल्लेख गरे।

विज्ञापन

‘हाम्रो पार्टीको विधानमा नै केन्द्रीय कमिटी पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्ने स्पष्ट व्यवस्था छ’, उनले अगाडि भने, ‘दशौँ महाधिवेशनमा त्यही अनुसार अघि बढ्न सकिन्छ। अन्य पदाधिकारी साथीहरु पनि अध्यक्षका लागि योग्य हुनुहुन्छ। एमालेको मूल नेतृत्व लिन म आफैँ पनि योग्य छु।’

उनले पार्टीको मूल नेतृत्व अर्थात अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न आफू पनि तयार रहेको जनाउ पत्रकारहरुलाई दिए।

असोज १५-१७ सम्म भएको विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीले ‘जसको नीति उसको नेतृत्व’ हुने बताएका थिए। गोदावरीमा भएको विधान महाधिवेशनले ७० वर्षे उमेर हदबारे व्याख्या गरेर ओलीका लागि फेरि अध्यक्ष हुन अर्थात ‘एउटै कक्षा दोहोर्‍याउन’ ढोका खोलिदिएको थियो। यसको अर्थ महासचिव ईश्वर पोखरेलको भाषामा ओलीलाई टक्कर दिने अन्य नेता एमालेमा अहिलेलाई छैनन् भन्ने हो। तर भुसालले आफ्नो नीति स्थापित गर्न अध्यक्षमा ओलीलाई टक्कर दिन सकिने उल्लेख गरे।

ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पारित दस्तावेजमा ‘दलाल पूँजीवादलाई कमजोर पार्दै, राष्ट्रिय पूँजीको निर्माण गर्दै’ समाजवादको आधार तय गर्ने कुरा उल्लेख छ। एमालेमा यसलाई उठाउने नेता घनश्याम भुसाल नै हुन्। उनै भुसालले आफूहरुले ओलीसँग आत्मसमर्पण गरेको नभइ ओली नै आफ्नो विचारमा सहमत हुने विन्दुमा आइपुगेको तर्क गरेका छन्।

‘हामीले उठाएका कुरामा केपी ओलीले हिजो बिमत्ति देखाउनु भएको थियो। तर ती विषयमा उहाँ आज सहमत हुनुभएको छ’, उनले भने, ‘संसद विघटन प्रकरणमा पनि उहाँ छलफलका लागि तयार हुनुभएको छ। विधान महाधिवेशनमा हामीले कुरा उठाएका थियौँ। तर त्यसबारे हरेक कमिटीमा लगेर विवादित नगरौँ भन्ने कुरा हो। यीसहितका विषय पार्टीभित्र गम्भीर रूपमा राखेका छौँ। संसद विघटनबारे पार्टीमा छलफल हुनेछ। ओली त्यसमा तयार हुनु भएको छ।’

विधान महाधिवेशनले पारित गरेका नीतिबारे मंसिरमा हुने महाधिवेशनमा पनि छलफल हुने तर्क उनले गरे। ‘विधान महाधिवेशनले जे निर्णय गर्छ, नेतृत्व चुन्ने महाधिवेशनमा छलफल हुन्छ भनेका हौँ। दशौँ महाधिवेशनको केही कुरा अझै सकिएको छैन’, उनले भने, ‘पार्टीलाई सैद्धान्तिक रूपमा नसच्याइ राजनीतिक मामिलामा कांग्रेस-माओवादीलाई गाली गरेर मात्रै केही हुँदैन।’

भुसालले यसअघि पनि पुष्पलालको नीति पारित गरेर उनलाई नेता हुन नदिइएको स्मरण गरे। त्यसैले अब नीति जसको हो, उसले नै नेतृत्व लिने गरी पहलकदमी थाल्नुपर्नेमा जोड दिएका छन्।

एमालेभित्र चर्किएको द्वन्द्वका समयमा माधवकुमार नेपाललाई साथ दिएका उनी विभाजनतर्फ नलागी एमालेमै बसे। १० जना स्थायी कमिटी सदस्यले ओलीसँग आत्मसमर्पण गरेको आरोप लागिरहेको अवस्थामा भुसालले यथार्थ त्यस्तो नभएको तर्क गरे।

जबज फेज आउट
भुसालले आठौं महाधिवेशनदेखि नै पार्टीलाई नयाँ दिशामा लान खोजेको तर्क गरे। तर एमाले अनेक समस्यामा फस्न पुग्दा अहिले कयौँ विकृति देशको शासन प्रणालीमा देखिएको तर्क उनले गरे।

‘अहिले हेर्नु त कस्तो विषयमा न्यायाधीशले कोटा खोज्छन्, अदालतले सेटिङ गर्छ, कानुन अपहृत हुन्छ’, उनले भने, ‘एमालेमा आजको समस्या विचारको विचलनले आएको हो। समृद्धि ल्याउने समाजवादमा जाने प्रस्ताव आठौं महाधिवेशनमा उठेर नवौँमा पारित भएको हो। त्यही अनुसार हामीले जबजको पनि व्याख्या गर्दै जानुपर्छ भनेका हौँ।’

जबजबारे व्याख्या गर्दै उनले यसलाई चुनावदेखि चुनावसम्म पुग्ने साधन मात्रै बनाइएको तर्क गरे।

‘जबज के हो त? समृद्धि, विकास सुशासन र भ्रष्टाचाररहित शासन हो। हिजो जे भयो जबजले भयो, आज के हुँदैछ जबजले हुँदैछ। भोलि जे हुन्छ जबजले हुन्छ भन्ने कुराले हामी फस्यौँ। पार्टी चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्यो। चुनाव जितेर अर्को चुनाव जित्ने साधन मात्रै भयो जबज’, उनले भने, ‘कार्यकर्ताले चुनाव जित्छ, पैसा कमाउँछ, त्यो पैसाले अझै ठूलो पद किन्ने भयो। पैसा, पद, पैसा, पदमा फसे नेता कार्यकर्ता। चुनावदेखि चुनावसम्म फसाउने गोलचक्करले कहीँ पुगिँदैन।’

उनले माओवादी विद्रोहको हालत पनि त्यही भएको बताए। ‘माओवादीले पनि विद्रोहदेखि विद्रोहमा भनेको हो। तर अहिले चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्यो’, उनले भने, ‘जितिएको चुनावले समाज रूपान्तरण गरेन भने काम छैन। चुनावदेखि चुनावसम्मको गोल चक्करले समाजलाई भ्रष्ट बनाउँछ। अब दलाल पूँजीवादलाई चिनेर त्यसलाई साँघुरो बनाउनुपर्छ र राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जानुपर्छ।’

उनले एमाले र माओवादी पनि त्यही निष्कर्षमा आएर मिले पनि राष्ट्रिय पुँजी विकास गर्न छलफल नै नभएका कारण विभाजन आएको तर्क गरे। ‘समाजवादको तयारी गर्न नेकपामा कहिल्यै छलफल नै हुन सकेन। सबै दलाल पूँजीवादले फसाइदिन्छ गोलचक्करमा’, उनले भने, ‘कार्यक्रम नै दिन नसकेकाले हामी विभाजित भयौँ। त्यही कुरा भन्ने पार्टी अहिले तीनवटा छन्। यही गोलचक्करमा पार्टीहरू फसिरहन्छन्।’

उनले विधान महाधिवेशनमा ओली एक कदम अघि बढेको तर्क गरे। ‘मदन भण्डारीले भनेको कुरामा उहाँहरूले व्याख्या नै हुन सक्दैन भन्नु भएको थियो। तर अध्यक्ष ओली नै दलाल पुँजीवादको व्याख्या गर्नुपर्छ भन्ने विन्दुमा आइपुग्नु भएको छ। ओली नवौँ महाधिवेशनबाट अघि बढ्नु भएको छ।’

उनले विधान महाधिवेशनले पारित गरेका कुरालाई दशौँ महाधिवेशनले संशोधन गर्न सक्ने बताए। ‘एमालेले जबजसहितका आफ्ना नीतिगत र सैद्धान्तिक कुरामा प्रष्ट व्याख्या नगरे फेरि समस्या हुन्छ। जबज जति भने पनि कार्यक्रमका हिसाबले फेज आउट भइसक्यो भन्ने हो’, उनले भने, ‘चेग्वेभारा क्रान्तिकारी थिए। तर हरेक चिजलाई दलाल पूँजीवादले विकाउको वस्तु बनाइदियो। उनको तस्बिर अंकित हरेक वस्तु विक्रीका साधन बने।’

उनले दलाल पुँजी शिक्षा स्वास्थ्यमा आमुल परिवर्तन नगरेसम्म केही नहुने बताए। ‘शिक्षा, स्वास्थ्यबाट आमुल परिवर्तन र रोजगारीको ग्यारेन्टी अहिलेको आवश्यकता हो। यी विषयमा प्रष्ट नभएसम्म हामी अघि बढ्न सक्दैनौं। हामी अन्त्यहीन विवादमा फस्छौँ’, भुसालले अगाडि थपे, ‘मानिसको जीवनस्तर परिवर्तनबारे बहस नभएसम्म धरहरा, रानीपोखरी र दरबार स्कुल बनेर मात्रै मात्रै केही हुँदैन। दशौँ महाधिवेशन पनि यही गोलचक्करबाट निस्किन सक्छ कि सक्दैन भन्ने हो।’

एमाले बिग्रियो
भुसालले एमालेले आँट गरेर परिवर्तन नरोजेमा समस्या हुने बताए। ‘एमाले प्रजातान्त्रिक अभ्यासबाट गुज्रिँदै आएको हो। हाम्रो सामूहिकता र संगठन प्रणाली पछिल्लो समय बिग्रेको छ। हाम्रो संगठन प्रणाली ध्वस्त हुँदैछ,’ भुसालले थपे, ‘दशौँ महाधिवेशन कहाँ हुँदैछ भन्ने पनि हामीबीच छलफल भएन। संस्थागत प्रणाली भत्किएकाले जताततै ओली मात्रै देखिए। स्ट्याचुदेखि बुख्याचासम्म ओली नै थिए विधान महाधिवेशनमा पनि। यस्तै जारी रहे एमाले अझै ठूलो संकटमा जाँदैछ।’

उनले व्यक्तिले विधि बनाएर अरु हिँड्ने कुरा गलत भएको बताए। ‘पार्टीले संस्थागत विधि बनाएर सबै हिँडौँ, व्यक्तिले विधि बनाएर अरू हिँड्नु पर्छ भन्दा हाम्रो प्रणाली भत्किएको छ। एमालेमा विवाद हुँदा हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि त्यसलाई विद्रोह होइन भनियो’, उनले भने, ‘तर त्यहाँ सहभागी केही साथीहरू विभाजन चाहन्थे। विभाजन गर्नुपर्छ भन्ने साथीहरू पनि यसमा सहमत हुनुहुन्न।’

माधवले धोका दिए
भुसालले एमाले छाडेर एकीकृत समाजवादी बनाएका माधव नेपालले आफूहरूलाई धोका दिएको गुनासो गरे। ‘माधव नेपालले सैद्धान्तिक र वैचारिक छलफलमा ध्यान दिएनन्। सैद्धान्तिक मुद्दामा बहस नै गर्न चाहेनन्’, उनले भने, ‘माधव नेपाललाई हामीले छाडेको होइन, उहाँले छाडेको हो। चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलाको घोषणाको उलंघन भयो। उहाँले विभाजन रोजेर गलत गर्नु भयो। यदि सैद्धान्तिक बहस भएको भए उहाँ पार्टी फुटाउन जानु हुन्थेन।’

उनले फुटेका पार्टीले कुनै प्रगति नगर्ने पनि टिप्पणी गरे। ‘फुटेका पार्टीले प्रगति गर्दैनन्, माधव नेपाललाई फुटेको पार्टीले कलमी हुँदैन भनेका हौँ हामीले’, उनले भने, ‘तर उहाँले राष्ट्रिय भेलाको निर्णयविपरीत सैद्धान्तिक र वैचारिक कुरा बिर्सिँदै फुटतिर लाग्नु भयो। हामीले फुट आफैँ भोग्यौँ, यसअघि एमाले र कांग्रेस फुटेर बनेका पार्टीले केही गर्न सकेका थिएनन्। अहिले पनि माधव नेपालले त्यो कुरा बुझ्नु भएन। उहाँ पार्टी विभाजन नै चाहनुहुन्थ्यो। तर धोका हामीले होइन, उहाँले नै दिएको हो।’

गठबन्धन
अहिले बनेको गठबन्धन टिक्ने नटिक्ने कुरा पनि एमालेमै भर पर्ने तर्क भुसालले गरेका छन्। ‘गठबन्धन टिक्ने नटिक्ने एमालेमा भर पर्छ। एमाले आफैँ बिग्रियो भने उहाँहरूले केही गर्न सक्नु हुन्न तर हामी बिग्रिनु भएन’, उनले भने, ‘अहिलेको एमालेलाई नेकपाको निरन्तरता भन्ने तर पछाडि फर्केर जबज नै अपनाउने चक्करमा एमाले लागिरह्यो भने कुरो बिग्रिन्छ। जबज चुनावदेखि चुनावसम्म जाने बाटो मात्रै भयो। त्यसैले एमाले सुध्रिएर अघि बढेमा गठबन्धनले फरक पर्दैन।’

उनले एमाले विवादमा भूराजनीतिक प्रभाव पनि रहेको उल्लेख गरे। ‘एमाले विवादको भूराजनीतिक अर्थ छ। हामी विभाजित भयौँ भने भूराजनीतिको सानो कुराले पनि असर गर्छ’, उनले भने, ‘हामीले कुनै बेला राष्ट्र पुकार साप्ताहिकले लेखेपछि चौरासी बाकस र दूधकाण्डमा आन्दोलन चर्कायौँ। तर ती दुवै कुरा फेक रहेछन्। त्यसैले अहिले पनि त्यस्तै अर्थहीन र सैद्धान्तिक र वैचारिक भन्दा सत्ता केन्द्रित कुराले हामी विभाजित हुँदा भूराजनीतिले हामीलाई च्याप्न सक्छ।’

भुसालले नेपाल चीनको अझै तिब्बतको निकट छिमेकी भएकाले सानो कुराले पनि ठूलो असर पार्न सक्ने बताए। ‘हामी चीन र तिब्बतको अझ निकट छिमेकी हौँ। हामी भर्खरै बनेको क्वाडको पनि प्रभाव पर्ने ठाउँमा छौँ’, उनले भने, ‘एमाले र कांग्रेस जस्ता पार्टीको विवादले नेपालमा भूराजनीतिक दबाब बढाउँछ। त्यसैले विभाजन र फुट बढाउने कुरातर्फ हामी चनाखो र गम्भीर हुन जरूरी छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस