चितवन।
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट कक्षा ११ पढ्दादेखि अभिनय यात्रा सुरु गरेका भरतपुरका सुमित आचार्य अहिले ठूलो पर्दाको नेपाली चलचित्रको सहायक निर्देशकको रुपमा अनुबन्ध भएका छन् ।
विज्ञापन
जो कोही चलचित्र निर्देशन क्षेत्रमा लाग्नु त सामान्य कुरा नै हो । तर, सुमित भर्खर २३ वर्ष लागेका छन् । नत उनको परिवारमा कोही चलचित्र क्षेत्रमा छ, नत उनको परिवार नै सम्पन्न खालको हो । उनी त ११ कक्षामा पढ्दादेखि अभिनय सिक्दै आफ्नो पढाइ र कामलाई पनि अगाडि बढाए । भर्खरै आमसञ्चार विषयमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाटै बीए पूरा गरेका उनी हालसालै नेपाली कथानक चलचित्र ‘ग्रीन बर्ड’ मा अनुबन्ध भएका छन् । पारिवारिक कथानक यस चलचित्रको निर्देशक तथा कथाकार प्रमोद कँडेल छन् भने चलचित्रको केन्द्रीय भूमिकामा सुरक्षा पन्त छन् । चलचित्रलाई निगम श्रेष्ठले डिजाइन र छायांकन टोलीमा भारतका कात्तिके कर्नाटक र भारद्वाज महिता रहेका छन् । चितवनमा नै छायांकन गरिएको यो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवहरुमा प्रदर्शन गरेपछि चलचित्र भवनहरुमा प्रदर्शन गर्ने निर्माण पक्षले बताएको छ ।
विज्ञापन
सुमितको ‘ग्रिन बर्ड’ नै पहिलो प्रोजेक्ट भने होइन यसअघि उनले झण्डै एक दर्जन नाटक र चलचित्रमा अभिनय गरिसकेका छन् । युट्युबमा पनि उनको धाराबाहिक श्रृंखलाहरु प्रसारित भएका थिए । चरनदास चोर, बहुलाकाजीको सपना, श्रीमानवीरबहादुर जस्ता नाटकमा अभिनय गरिसकेका सुमितले देशका विभिन्न ठाउँमा पुगेर लगभग १०० वटा सडक नाटक गरिसकेका छन् ।
उनी हालसालै चर्चित कलाकार दीपकराज गिरीको सानो पर्दाको टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’ मा पनि सहायक निर्देशकको रुपमा काम गरिरहेका छन् । दीपकको सो कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । सुमितले क्राइम पेट्रोलको दुई श्रृंङ्खलाको निर्देशन गरि सके ।
‘क्राइम पेट्रोल नेपाल’ होष्टसहित ड्रामाको रुपमा निर्माण हुन लागेको हो । श्रृंखलाकाअनुसार निर्देशक परिवर्तन देख्न सकिनेछ । ‘क्राइम पेट्रोल नेपाल’ मा प्रसारण हुने श्रृंखलाका कथा प्रहरीले अनुसन्धान गरेर सफलता हात पारेको कथा बन्ने छन् ।
फेसबुक प्रतिक्रियाहरु