शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • विश्वासपात्रले साथ छाड्दा रावललाई समस्या,सकियो ३ दशक लामो सहयात्रा, अब प्रतिस्पर्धी
समाचार

विश्वासपात्रले साथ छाड्दा रावललाई समस्या,सकियो ३ दशक लामो सहयात्रा, अब प्रतिस्पर्धी

नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरको नेकपा एमालेसँग तीन दशकभन्दा लामो सम्बन्ध छ। त्यो भन्दा बढी लामो र निकट सम्बन्ध उनको एमाले उपाध्यक्ष डा. भीम रावलसँग छ।

कुँवर र रावल दुवै एकै जिल्ला अछामका हुन्। उनीहरुको निर्वाचन क्षेत्र पनि अछाम निर्वाचन क्षेत्र नम्बर १ हो।

विज्ञापन

उनीहरुको राजनीतिक सहकार्य वि.सं. २०४५ सालदेखि सुरु भएको थियो। काठमाडौँमा रहँदा रावलसँग निरन्तर सम्पर्क भएसँगै राजनीतिक घनिष्टता सुरु भएको हो।

विज्ञापन

कुनै बेला कुँवर अछाममा रावलका विश्वासपात्र मानिन्थे। तर एमालेको विभाजनमा रावल र कुँवरको तीन दशक लामो राजनीतिक सहयात्रा पनि टुटेको छ। अगामी चुनावमा उनीहरु दुवै एकअर्काका प्रतिस्पर्धी बन्ने स्थित आएको छ।

भीम रावलनिकट कुँवरले साथ छोडेर नेकपा एकीकृत समाजवादीमा लागिसकेका छन्। अछाममा बलियो जनाधार बनाएका संगठन निर्माणमा अब्बल कुँवरले साथ छोडेपछि रावलाई ठूलो धक्का लागेको छ।

‘भीम रावल मन्त्री बनेर धेरै समय काठमाडौँतिर बस्ने गर्नुहुन्थ्यो। जिल्लामा कुँवर सक्रिय हुनुहुन्थ्यो।’ अछामका एक  भने, ‘उहाँ (शेरबहादुर) ले नै रातदिन नभनी संगठन निर्माण गर्नुभएको हो।’

एमाले विभाजनले कुँवर र रावल दुवैलाई जिल्लामा धक्का लाग्ने ती नेता बताउँछन्। ‘एकीकृत शक्ति दुई चिरामा विभाजित भएको छ। यस्तो अवस्थामा चुनावमा दुवै जनालाई बेफाइदा हुन्छ,’ उनी भन्छन, ‘उहाँहरु आपसमै प्रतिस्पर्धा गर्ने ठाउँमा पुग्नु भएको छ।’

उनका अनुसार अछाममा कुँवर एकीकृत समाजवादीमा नेता-कार्यकर्ता तान्ने र रावल एमालेमै रोक्ने कसरतमा छन्।

राजनीतिक यात्रा
कुँवर वि.सं. २०३९ सालमा विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा होमिएका थिए। अध्ययनका क्रममा विराटनगरमा रहँदा उनी अनेरास्ववियुसँग जोडिएका थिए।

अछामको चौरपाटी गाउँपालिका–४ मा जन्मिएका उनी २०४७ सालमा बहुदल आएपछि गृहजिल्ला गएका थिए।
त्यसबेला उनी तत्कालीन नेकपा मालेको जिल्ला कमिटी सदस्य भएर मूलधारको राजनीतिमा होमिए।

एमाले र मालेको एकीकरण भएर बनेको पार्टीमा पनि उनले जिल्ला कमिटीमा सदस्य रुपमा काम गरेका थिए। त्यो बेला एमालेको जिल्ला कमिटीमा ७ जना मात्रै थिए। कुँवर थपिएपछि संख्या ८ पुगेको थियो।

उनी वि.सं. २०४९ सालमा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य भए। वि.सं. २०५४ सालमा उपसचिव, वि.सं. २०६२ मा सचिव हुदै वि.सं. २०६९ देखि जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए।

अहिले माधव कुमार नेपाल नेतृत्वको नवगठित एकीकृत समाजवादी पार्टीको जिल्ला नेतृत्व कुँवरले सम्हालिरहेका छन्।

नेकपा एमालेमा हुँदा कुँवरको पक्षमा बलियो जनाधार थियो। अहिले उनको शक्ति पनि दुई चिरा भएको छ।

रावलका लागि त्याग
कुँवर वि.सं. २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए। त्यसबेला भीम रावल समानुपातिकबाट सांसद बनेका थिए।

त्यसपछि वि.सं. २०७० र ०७४ सालको चुनावमा कुँवरले रावललाई प्रत्यक्षतर्फ लड्न त्यो क्षेत्र छोडेका थिए। उनी वि.सं. २०७० सालमा समानुपातिक बसे। २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए।

यस अघि वि.सं. २०४८ सालमा अछाममा रावल पराजित भएका थिए। वि.सं. २०५१ मा विजयी रावल ०५६ को चुनावमा फेरि पराजित भएका थिए।

वि.सं २०४५ सालदेखि नै शेरबहादुर कुँवर भीम रावललाई आफ्नो नेतृत्वकर्ता मानेर राजनीतिमा सक्रिय भएका थिए।

तत्कालीन नेकपा एमालेको गुटबन्दीमा माधव कुमार नेपाल समूहमा रहेका भीम रावलले नेपालको नयाँ पार्टी गठन गर्ने निर्णयमा साथ दिएनन्।

पार्टी संरचनालाई वि.सं. २०७५ जेठ २ को अवस्थामा लैजाने अध्यक्ष ओलीको आश्वासनपछि उनीसहित १० नेता एमालेमै रहेका थिए।

आफूले भीम रावलको साथ नछोडेको बताउँदै उनले बरु रावलले नै विचार समूह त्यागेको कुँवरले टिप्पणी गरेका छन्।

‘हामीले सुरुवातमा जुन विचार बोकेका थियौँ, अहिले पनि त्यहीँ अडिग छौँ।’ उनले भने, ‘उहाँ (भीम रावल) ले विचार समूहलाई त्यागेर जानु भएको हो।’

एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह छेड्न नेतृत्व गरेका रावलले अन्तिममा धोका दिएको उनको टिप्पणी छ।

‘केपी ओलीका कारण कम्युनिष्ट आन्दोलन सक्किन लागेका बेला हामीले आन्दोलनको रक्षाका लागि विद्रोह गर्‍यौँ। नयाँ पार्टी जन्माउनु पर्छ भन्ने सोच उहाँ (भीम रावल) को पनि थियो,’ कुँवर  भने, ‘हामीले पार्टी विभाजनमा नजाऊँ भन्दा उहाँ रिसाउनु हुन्थ्यो। जतिसक्दो चाडो नयाँ पार्टी बनाएर जाऊँ भन्ने उहाँको अडान थियो। यस्तो भन्ने मान्छे अन्तिममा यू टर्न हुनुभयो।’

ओलीको अहंकारविरुद्ध विद्रोहको ज्वाला उठाउने प्रमुख पात्र नै रावल भएको उनको दाबी छ। ‘माधव नेपाल र झलनाथ खनालले त नेतृत्व मात्रै गर्नु भएको थियो। ओलीविरुद्धको विद्रोहको ज्वाला उठाउने प्रमुख पात्र त रावल नै हुनुहुन्थ्यो, ’उनले भने, ‘उहाँको त्यो अभियानलाई हामी सबैले साथ दियौँ। एकैचोटी १० बुँदेको जगमा उहाँ यू टर्न भएपछि हामीले साथ छाड्नै पर्ने बाध्यता आइलाग्यो।’

रावल अहिले ओलीको जालमा फसेको जिकिर उनले गरेका छन्। केपी ओलीले कम्युनिष्ट आन्दोलन जोगाउन नसक्ने दाबी उनले गरे।

ओलीले दक्षिणपन्थी बाटो लिएको भन्दै आन्दोलन रक्षाका लागि नयाँ पार्टी बनाएर जानु पर्छ भनेर रावलले गाउ–गाउँमा प्रचार गर्न लगाएको पनि कुँवरले बताए।

‘रावलले माधव कमरेडलाई डिलमा पुर्‍याएर छोड्नु भयो। तर माधव कमरेडको साथ हामीले छाडेनौँ’ उनले भने, ‘रावल त अहिले ओलीको जालमा फस्नुभएको हो। एक्कासि विचार समूह त्यागेर हिँड्नु भयो, हामीले त्यसो गर्न सकेनौँ, नयाँ बाटो समात्यौँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस