शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवन राष्ट्रिय निकुञ्जमा रेलमार्ग वन्यजन्तुमैत्री बनाउन मन्त्रालयले ल्यायो निर्देशिका
समाचार

चितवन राष्ट्रिय निकुञ्जमा रेलमार्ग वन्यजन्तुमैत्री बनाउन मन्त्रालयले ल्यायो निर्देशिका

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै जाने पूर्व–पश्चिम रेलमार्ग बनाउँदा वन्यजन्तुको ओहोरदोहोरमा अवरोध नपुग्ने गरी पूर्वाधार निर्माण गर्नुपर्ने भएको छ ।

विज्ञापन

सडक, रेल तथा तटबन्ध बनाउँदा वन्यजन्तुको बासस्थानमा असर गर्न थालेपछि सरकारले अब बन्ने संरचना वन्यजन्तुमैत्री हुनुपर्ने गरी निर्देशिका तयार गरेको हो ।

विज्ञापन

वन तथा वातावरण मन्त्रालयले तयार गरेर रायसुझावका लागि केही दिनअघि कानुन मन्त्रालय पठाएको निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको ओहोरदोहोरलाई सुरक्षित गर्न, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमार्फत सहअस्तित्व कायम गर्न र वन्यजन्तुको सडक दुर्घटना न्यून गर्न वन तथा वातावरण मन्त्रालयले अर्थ, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय गरेर निर्देशिका बनाएको हो । वन मन्त्रालयले विज्ञहरूसँग पनि पटकपटक छलफल गरेको थियो । चालु अर्थिक वर्षदेखि नै निर्देशिका कार्यान्वयनमा ल्याउने वन मन्त्रालयको योजना छ ।

चितवन हुँदै जाने पूर्व–पश्चिम राजमार्ग विस्तार, पूर्व–पश्चिम रेलमार्गलगायत प्रसारण लाइन, सिँचाइ, बाँध र तटबन्ध बनाउने क्रममा विभिन्न स्थानमा वन्यजन्तुको ओहोरदोहोरमै समस्या सिर्जना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली वन क्षेत्रमा धेरै पटक सवारीसाधनको ठक्करबाट वन्यजन्तुको ज्यान जाने गरेको छ ।

प्रस्तावित निर्देशिकामा कमिलादेखि बाघ, गैंडा, जंगली हात्तीलगायत वन्यजन्तु र चराचुरुंगीको ओहोरदोहोरलाई सहज गराउने उद्देश्य राखिएको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बुद्धिसागर पौडेलले वन्यजन्तुको बासस्थान र पारिस्थितिकीय प्रणालीमा हुने रेखात्मक प्रकृतिका पूर्वाधार निर्माण तथा विस्तारलाई वन्यजन्तुमैत्री बनाउनुपर्ने भएकाले निर्देशिका तयार गरिएको बताए । ‘मुलुकका सबैतिर पूर्वाधारका धेरै आयोजना अघि बढेका छन्,’ उनले भने, ‘त्यसरी जथाभावी संरचना बनाउँदा वन्यजन्तुको बासस्थान बिग्रिने र आउजाउमै रोकावट हुने भएकाले निर्देशिका बनाइएको हो ।’

वन्यजन्तुमैत्री संरचना पहिलो पटक मुग्लिङ–नारायणगढ सडकखण्डमा निर्माण गरिए पनि त्यसको डिजाइनप्रति वन्यजन्तु विज्ञहरूले प्रश्न उठाउँदै आएका छन् । वन मन्त्रालयका अनुसार अब बन्ने रेखात्मक प्रकृतिका सडक, रेलमार्ग, सिँचाइ–नहर, नदी नियन्त्रणसम्बन्धी बाँध, तटबन्धलगायत संरचना, ग्यास तथा तेलका पाइप लाइन, विद्युत् प्रसारण लाइन, जलविद्युत् आयोजनाको बाँध, हेडरेस नहर, हेडरेस पाइप तथा पेनस्टक पाइप र यस्तै प्रकृतिका अन्य संरचना बनाउँदा वन्यजन्तुलाई ओहोरदोहोर गर्न मिल्ने अन्डरपास र ओभरपास बनाउनुपर्नेछ ।

प्रस्तावित निर्देशिकामा कुनै पनि पूर्वाधारका लागि सम्भाव्यता अध्ययन गर्दा सम्भव भएसम्म निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रभन्दा बाहिर पारेर गर्नुपर्ने प्रस्ताव गरिएको छ । अति संवेदनशील क्षेत्रमा पूर्वाधारको सम्भाव्यता वा वातावरणीय अध्ययनका लागि वन मन्त्रालयको पूर्वसहमति लिनुपर्ने व्यवस्था निर्देशिकामा छ । ‘अति संवेदनशील क्षेत्र’ भन्नाले निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र हुन्  । ओभरपास संरचना बनाउँदा जमिनमा विचरण गर्ने जंगली हात्ती, गैंडा प्रजातिका लागि संरचनासम्मको पहुँचको भिरालोपन बीस डिग्रीभन्दा बढी नहुने गरी र चौडाइ कम्तीमा बीस मिटर हुने गरी निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस