शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीकै कारण मुलुकमा अस्थिरता सृजना भएको छ : माधव नेपाल
समाचार

केपी ओलीकै कारण मुलुकमा अस्थिरता सृजना भएको छ : माधव नेपाल

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले केपी ओलीकै कारण मुलुकमा अस्थिरता सृजना भएको आरोप लगाएका छन् ।

विज्ञापन

राजनीतिक प्रस्तावमा भनिएको छ, ‘केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’

विज्ञापन

उनले केपी ओलीकै कारणले नेकपाको एकता भाँडिएको र नेकपा (एमाले) को एकता पनि तोडिएको बताएका छन् । राजनीतिक प्रस्तावमा भनिएको छ, ‘संसदमा बहुमत गुमाइसकेपछि पनि सरकारमा रहिरहने उनको सत्तालिप्सा र आफ्नो सरकार ढल्ने भएपछि असंवैधानिक ढगंले भएपनि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक एवं प्रतिगामी कार्यले गर्दा मुलुक एक प्रकारको मुठभेडमा गयो । लोकतन्त्र र संविधानको रक्षार्थ सडक संघर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधिसभालाई बचाउने काम त भयो तर, अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । एक प्रकारको अनिश्चितता र अन्योल कायमै छ ।’

एमालेले सांगठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पुरै उलंघन गरेको प्रतिवेदनमा भनिएको छ ।

केपी ओलीले एकताका निम्ति वार्ताको अनेकन नाटक गरेको र वार्तामा एकताको निम्ति सच्चा र इमान्दार प्रयत्न नभई जालझेल गरेर कथित दश बुँदे सहमति गरिएको आरोप लगाएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘वार्ता त फगत नाटक मात्र थियो, अल्मल्याउने र फसाउने चाल मात्र थियो । कथित सहमतिका दशवटै बुँदा प्राविधिक प्रकृतिका छन् । त्यसरी वैचारिक एवं राजनीतिक सवालमा प्रवेश नगरी केवल प्राविधिक बुँदामा मात्रै सहमति गरेर पार्टी एकता हुन सक्तैनथ्यो र एकता भैहाले पनि दिगो हुँदैनथ्यो ।

केपी ओलीले असंवैधानिक ढगंले गरेको जननिर्वाचित प्रतिनिधिसभाको विघटन गलत थियो भन्ने महशुस गरेर आत्मालोचित हुँदै जनतासमक्ष माफी नमागेसम्म एकता गर्नु हुँदैनथ्यो ।’

अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई  (बुधबार)देखि समूहगतरूपमा छलफल हुने केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन् । नेता नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गरिएको छ । केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजनालगायतका एजेण्डा बैठकमा राखिएका छन् । बैठक ११ बजे पुनः बस्ने उनले जानकारी दिइन् ।

क्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण सङ्घर्ष र लोकतान्त्रिक विधिबाट मुलुकको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणसहित राष्ट्रिय पूँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवादका आधार निर्माण गर्ने पार्टीको तत्कालीन लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘यो पार्टी सबै खाले प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णतावादका विरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको छ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदको समाप्तिका लागि सङ्घर्ष गर्नु र निःस्वार्थरूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तव्य हुनेछ’, प्रतिवेदनमा भनिएको छ ।

यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको उल्लेख गर्दै माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त रहेको प्रतिवेदनमा बताइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस