शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा युरिया मलको हाहाकार, समयमा आपूर्ति हुन नसक्दा किसान मर्कामा
समाचार

चितवनमा युरिया मलको हाहाकार, समयमा आपूर्ति हुन नसक्दा किसान मर्कामा

चितवन ।

चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् ।

विज्ञापन

धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।

विज्ञापन

चितवनमा तोरी र गहुँका लागि पनि रासायनिक मल अभाव हुने देखिएको छ । धान रोपाइँका बेला मल नपाएका किसानले हिउँदे तरकारीलगायत तोरी र गहुँका बेला समेत मल अभाव झेल्नुपर्ने देखिन्छ ।

चितवनमा मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ दुवैका गोदाम रित्ता छन् । तत्काल मल आउने सम्भावना पनि छैन । साल्ट ट्रेडिङ लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले भदौं २० गतेतिरबाट युरिया मलको स्टक सकिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ चितवनमा मल अभाव भएकै हो । मल कहिले आउँछ यसै भन्न सकिने अवस्था छैन । मल चाहियो भनेर किसानको फोन आइरहन्छ तर हामीसँग अलीअली पोटास मल बाहेक अन्य मल छैन ।’

विशेष परिस्थितिको कारणले मल नआएको मनिएको छ यसबारे आफूहरुलाई थाहा नहुने उनले बताए । चितवनमा युरिया मलको माग मात्र झण्डै १७ हजार मेट्रिक टन रहेको छ तर त्यो परिणाममा कहिल्यै पनि मल आपूर्ति हुन सकेको छैन ।कृषि सामग्री कम्पनी लिमिटेड भरतपुरका प्रमुख राजन बगालेले १७ हजार मेट्रिक टन युरिया मल चितवनमा माग भए पनि जम्मा पाँच हजार मेट्रिक टन जतिमात्र वितरण हुँदै आएको बताए । उनले भने, ‘ अहिले मलको स्टक सकिएको छ । अझै आउनलाई २०–२५ दिन कुर्नुपर्छ । लभगभग धानबालीलाई चाहीँ मल पुगिसकेको जस्तो लाग्छ । किसानले धेरै खरिद गरेर स्टक राख्ने कारणले पनि समस्या आएको हुनसक्छ ।’

धान पसाउने बेला पनि रासायनिक मल आवश्यक पर्छ । फूल लाग्ने बेला युरिया र सिँचाइ चाहिन्छ । नत्र २५ प्रतिशतसम्म उत्पादनमा ह्रास आउने कृषि प्राविधिक बताउँछन्  । अहिले धान पसाउने र फूल लाग्ने समय हो ।

खैरहनी नगरपालिका–१२ सिसानीका किसान तेजप्रसाद बर्ताेलाले चितवनमा किसानले कहिल्यै पर्याप्त मल नपाएको बताए । उनले कृषि सामग्री लिमिटेडको पहलमा केहीदिन अघि वीरगञ्जबाट ल्याएको मल पनि कुहिएको परेको गुनासो गरे । उनले भने, ‘ अहिले धानमा मल हाल्ने बेला हो । अब एक महिनापछि तोरी, राजमा, मुसुरो सबैलाई मल चाहिन्छ तर चितवनमा कहिल्यै खोजेजति मल पाइएन ।’

त्यसैगरी भरतपुर महानगरपालिका–६ पारसनगरका किसान शिवपुजन राहुतले पनि कृषि सहकारीमा पटकपटक धाउँदा पनि मल पाउन नसकेको बताए । उनले भने, ‘३१ बिघामा व्यवसायिक कृषि कर्म गरेका छौं । जसमध्ये आठ बिघामा धान लगाएका छौं । धानसहित सबै तरकारी र फलफूलहरुलाई युरिया मल चाहिन्छ तर हामीले पाएका छैनौं ।’ उनले यस वर्ष मलको अभावले बाली सप्रिन नसकेको दुःखेसो गरे । कृषि कर्ममा युवाहरुको विकर्षण बढिरहेको समयमा आवश्यक पर्दा किसानका लागि अतिआवश्यक सामग्री मल नपाउनुले किसानहरु झनै समस्यामा पर्ने गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस