शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको सौराहामा १५ करोडको लगानीमा वाटर किङडम बन्दै
समाचार

चितवनको सौराहामा १५ करोडको लगानीमा वाटर किङडम बन्दै

चितवन । चितवनको रत्ननगरमा सौराहाको पर्यटन विकासका लागि १५ करोडको लगानीमा वाटर किङडम निर्माण प्रक्रिया सुरू गरिएको छ । बालबालिकाका लागि चिप्लेटीदेखि पर्यटकका लागि बन्द हलभित्र कृत्रिम हिउँ पार्नेसम्मको पूर्वाधार वाटर किङडममा निर्माण हुनेछ । नौं महिनामा निर्माण सम्पन्न गर्ने गरी वडा नं–८ को बाघमारामा किङडम निर्माण सुरू गरिएको हो । किङडमको डिपिआर तयार गरी ठेक्का प्रक्रियाको काम अन्तिम चरणमा पुगेको छ ।

रत्ननगर नगरपालिकाको १० करोड ५० लाख र केन्द्र सरकारको ४ करोड ५० लाखको लगानीमा वाटर किङडम निर्माण हुने नगरपालिकाका इन्जिनियर पङ्कज गिरीले जानकारी दिए । सौराहाको पर्यटन विकासका लागि निकटमा रहेको बाघमारास्थित चार बिघा क्षेत्रफलमा वाटर किङडम निर्माण हुने उनले बताए ।

विज्ञापन

वाटर किङडममा तीनवटा कृत्रिम पोखरी, स्वीमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पीङलगायतका आकर्षक पूर्वाधार निर्माण हुनेछ ।

विज्ञापन

सौराहा आउने पर्यटकलाई नयाँ अनुभूति दिन वाटर किङडम निर्माण सुरू गरिएको मेयर नारायण वनले बताए । ‘सौराहाले नयाँ स्वाद खोजिरहेको छ’, उनले भने, ‘हामी रमणीय ठाउँ बनाएर पर्यटकलाई आनन्द दिनेछौँ ।’ सो नगरपालिकाले वाटर किङडम निर्माण गरी सञ्चालनका लागि निजी संस्था, व्यक्ति वा कम्पनीलाई जिम्मा दिने योजना बनाएको छ । सुरूमा नगरपालिका र केन्द्र सरकारको लगानीमा निर्माण गर्ने र लगानीका लागि शेयर खुल्ला गर्ने योजना रहेको मेयर वनले बताए ।

सुरूमा निजी संस्था, व्यक्ति वा कम्पनी सञ्चालनका लागि जिम्मा दिने र उनीहरुले नगरभित्रका आमा समूह, सहकारी, क्लब, टोल विकास संस्था, क्लबहरुलाई न्यूनतम शेयर रकम तोकेर शेयर खुल्ला गर्नुपर्ने छ ।

वाटर किङडम चितवनकै पर्यटन विकासको अनुपम स्थानका रुपमा स्थापित हुने मेयर वनको भनाइ छ । सञ्चालनको चरणमा समुदायको लगानी हुने भएकाले सबैले अपनत्व ग्रहण गर्न सक्ने भएकाले रत्ननगरको वाटर किङडम नेपालकै नमुना पर्यटकीय केन्द्रको रुपमा विकास हुने उनले बताए ।

वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको छ । हात्ती चढेर निकुञ्ज घुम्ने पर्यटकलाई अर्को नयाँ कार्यक्रमको रुपमा वाटर किङडम निर्माण गर्न लागिएको भन्दै मेयर वनले यो पर्यटकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे ।

सौराहाको पर्यटन विकासका लागि सिसुवारमा गैँडा आकृतिको सभाहल, वडा नं–९ मा होमस्टेसहितको रमणीय पार्क निर्माण भइरहेको छ ।

सौराहालाई पार्कहरुमा जोडेर पर्यटनको विकाससँगै स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउने योजना रहेको मेयर वनले बताए । वाटर किङडम, सभाहल र होमस्टेसहितको पार्क सञ्चालनमा आएपछि रोजगारीसँगै आयआर्जनका धेरै उपायहरु सुरू हुने उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस