शुक्रबार, असार ४, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फेरिन थाल्यो प्रधानमन्त्री ओलीको बोली
समाचार

फेरिन थाल्यो प्रधानमन्त्री ओलीको बोली

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन् । हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन्।

‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो मलाई लागेको थियो । त्यसकारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव देखियो,’ प्रधानमन्त्री ओलीले शनिबार साँझ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा भनेका छन्।

कोभिड महामारीको दोस्रो लहर भयावह भएको एक महिनापछि मात्र उनले शनिबार सरोकारवालासँग छलफल गरे । यसअघि भने उनी धार्मिक जमघट र राजनीतिक भेटघाटमा व्यस्त थिए ।

विज्ञापन

कोभिड महामारीले संसार थला परेको वेला हाम्रा प्रधानमन्त्रीले ‘खाकखुक खोकेर थुकेपछि कोरोना–सोरोना भाग्ने’ दाबी गर्दै आएका थिए । नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले कोरोनाले केही नगर्ने भन्दै उनले संसद्मै भाषण गरेका थिए।

कोरोनाबारे पहिलोपटक संसद्मा ६ जेठ ०७७ मा गैरजिम्मेवार टिप्पणी गरेदेखि दर्जनौँपटक उस्तै गैरजिम्मेवार दाबी दोहो¥याउँदै आएका प्रधानमन्त्रीले एक वर्षपछि मात्र कोरोनालाई गम्भीर मानेका छन् । तर, यो ३६२ दिनको बीचमा देशमा ठूलो मानवीय क्षति भएको छ, साथै कोरोना अझै अनियन्त्रित छ।

प्रधानमन्त्रीले रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले नेपालीलाई केही पनि हुँदैन भनेर दाबी गर्दा गत ६ जेठमा देशभर कोरोनाबाट कुल संक्रमितको संख्या चार सय दुई पुगेको थियो । त्यसमध्ये तीन सय ६३ सक्रिय संक्रमित थिए भने दुईजनाको मृत्यु भएको थियो।

कोरोना केही होइन भन्ने मानसिकताले उचित रोकथाम तथा उपचार र अक्सिजनको समेत प्रबन्ध नहुँदा यस महामारीबाट अहिलेसम्म पाँच हजार एकजनाको ज्यान गएको छ । अहिलेसम्म चार लाख ५५ हजार २० संक्रमित भइसकेका छन् भने एक लाख १० हजार दुई सय ३६ जना अहिले पनि कोरोना भाइरससँग संघर्ष गरिरहेका छन् ।

कोभिड महामारी आएपछि प्रधानमन्त्रीले विज्ञका विचार सुन्ने र रोकथामको उपाय अवलम्बन गर्नेभन्दा पनि विज्ञहरूलाई नै पढाउने रणनीति लिए । गत वर्ष २९ चैतमा मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले कोरोनामा ‘फ्याटीय’ तत्व हुने भएकाले तातोपानीले हात धोएमा जाने दाबी गरेका थिए।

‘भाइरस निर्जीव तत्व हो । त्यसमा बोसीय, बोसोजस्तो फ्याटीय तत्वले भाइरसलाई एउटा जीवित तत्वका रूपमा सक्रिय गराइदिन्छ । यसकारणले तातोपानीले हात धोएमा त्यसलाई मार्छ । हात धुँदा, सकिन्छ भने तातोपानीले धुने । मुख धुँदा अलिकति तातोपानी, मनतातो पानीले धुने । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि समाप्त हुन्छ त्यहीँ’ प्रधानमन्त्रीले भाइरसलाई निर्जीव तत्व भनेकोमा पनि विज्ञहरूले आश्चर्य व्यक्त गरेका थिए।

उनीहरूले यस्तो अभिव्यक्ति आफूहरूले कुनै पनि विश्वविद्यालयमा नसुनेको टिप्पणी पनि गरेका थिए।

त्यसपछि ६ जेठमा राष्ट्रिय सभाको बैठकमा ओलीले भनेका थिए, ‘कोरोना–सोरोनाले नेपालीलाई केही असर गर्दैन किनकि नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ । नेपालीको भान्सामा मानिस निरोगी हुने तत्व हुन्छन् । भान्सामा हुने बेसार, लसुन, प्याजदेखि टिम्बुर, अदुवासम्मका चिजबिजले नेपालीलाई निरोगी राख्छ।’

त्यसो त त्यो वेलासम्म भएको मृत्युलाई पनि उनले कोरोनाबाटै भएको हो भन्नेमा शंका व्यक्त गरेका थिए । ६ जेठसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको थियो । तर, प्रधानमन्त्रीले राष्ट्रिय सभामा बोल्दै भनेका थिए, ‘कोरोनाबाट अहिलेसम्म नेपालमा दुईजनाको निधन भएको छ । कोरोनाभन्दा अन्य बिमारीको जटिलताले निधन भएको हुन सक्छ । तर, विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना लागेको छ भने अरू जुन कारणले भए पनि त्यो कोरोनाकै कारणले मृत्यु भएको मान्नुपर्छ।’

उनले १२ जेठमा देशवासीको नाममा सम्बोधन गर्दा पनि नेपालीको प्रतिरोधी क्षमता बलियो रहेको ठोकुवा गरेका थिए । नेपालीको भान्सा नै वैज्ञानिक रहेकाले प्रतिरोधी क्षमता पनि उच्च रहेको उनको भनाइ थियो । ‘हाम्रा पूर्वजहरूले हजारौँ वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्सामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोधात्मक क्षमता बढाउन बल पु¥याइरहेका छन्,’ प्रधानमन्त्रीको भनाइ थियो ।

हिमालमा ठोक्किएर फर्कने चिसो हावाका कारण पनि नेपालीको प्रतिरोधी क्षमता बलियो भएको उनको दाबी थियो । ‘आधा नेपाली हिमाली भेगतिरै स्वच्छ हावा, स्वच्छ पानी, उकाली–ओराली हिँडेर पहाडी जनजीवनमा बसेका छन् र इस्टामिना बलियो छ । तराईमा बस्नेहरूले पनि हिमालबाट ठोक्किएर आएको हावामा सास फेरेका छन् । हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । यदि मरुभूमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । तर, उनले २८ जेठमा प्रतिनिधिसभामा पनि यस्तै अभिव्यक्ति अझ जोडजार रूपमा दोहो¥याए । ‘यहाँ दाल, चामल, मकै, भटमास, यी अनेक चिज हुन्छन् र त्यसमा बेसार, नुन, खुर्सानी अनिवार्य हुन्छ । त्यहाँ बेसार, जिरा, धनियाँ, प्याज, लसुन हुन्छ । यी सबै औषधि हुन् । हरेक दिन औषधि खाएर प्रतिरोध क्षमता बढाएको नेपालीको प्रतिरोधी क्षमता माथि हुन्छ,’ उनको दाबी थियो । उनले बेसारको विषयमा पनि लामै मन्तव्य दिएका थिए ।

कांग्रेस सांसद गगन थापाले महामारी सामना गर्न वैज्ञानिक रणनीति चाहिने भन्दै नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कुन अध्ययनले भनेको हो भनेर सोध्दा प्रधानमन्त्रीको जवाफ थियो, ‘कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो।’

प्रधानमन्त्रीको बेसार बयानबारे सार्वजनिक आलोचना भएपछि उनी हच्किएनन् । उनले ४ असारमा राष्ट्रिय सभामा यसरी आक्रोश पोखे, ‘बेसारको महत्वको विषयमा मैले बोल्दा सडकमा हल्काफुल्का टिप्पणी भए । बेसार एउटा एन्टिबायोटिक तत्व भएको औषधीय गुण भएको तत्व हो, त्यसैले त्यसको अर्थ छ भनेको हुँ,’ उनले भने । तर, एन्टिबायोटिक गुण भएकाले बेसारले ब्याक्टेरियालाई मार्ने भए पनि कोरोना भने भाइरसबाट फैलिएको भन्ने तथ्यमा प्रवेश नै गर्न चाहेनन्।

ठीक ढंगले भनिएको कुरालाई पनि नकारात्मक ढंगले लिने र त्यसको वास्तविक अर्थलाई उडाउन खोज्ने प्रवृत्ति बढेर गएको भन्दै उनले असन्तुष्टि पोखेका थिए ।

राष्ट्रिय सभामा बोल्दै फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने बताए । उनको भनाइ थियो, ‘साउनको अन्त्य वा भदौको सुरुतिर पिकमा पुग्ने अनुमान गर्छौँ । त्यसपछि यो ओरालो लाग्छ । र, यसलाई हामी क्रमशः नियन्त्रण गर्न सक्छौँ ।’

उनले हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाउन सकिने दाबी पनि प्रस्तुत गरे । ‘कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ,’ जनतालाई उनको सुझाब थियो । नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटी र यम बमले लेखेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस