ओेखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका छन् ।
वडाध्यक्ष धमलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो । धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
विज्ञापन
पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मङ्गलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
विज्ञापन
अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए ।
पक्राउ परेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
धमला स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । जिम्मेवारीमा रहँदै यौनजन्य अपराधको कसुर लागेको यो दोस्रो घटना हो । अघिल्लो कार्यकालमा लिखु गाउँपालिकाका एक वडासदस्यलाई बलात्कार मुद्दा लागेको थियो । उनी अहिले जेलमै छन् ।रासस
फेसबुक प्रतिक्रियाहरु