काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले शहर व्यवस्थापनमा आचरण सुधारको खाँचो भएको बताएका छन् । आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीका बीच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले यस्तो बताएका हुन् ।
‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ’ बैठकमा प्रमुख शाहको भनाइ थियो ।
विज्ञापन
‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिले सम्ममा कालोपत्रे हुन्छन् ? खानेपानीको पाइप बिच्छ्याउन सहमति माग भइ आएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ ?’ बैठकमा प्रमुख शाहले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गरे ।
विज्ञापन
त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिले सम्ममा पुनस्र्थापना हुन्छ ? भन्दै प्रश्न गरे, ‘बिजुली भूमिगत गरिएपछि मर्मत गरिएको पैदल मार्ग पनि उबडखाबड छ । यसको सतहलाई कसरी मिलाउन सकिन्छ ?’ उनको प्रश्न थियो । प्रमुख शाहले महानगर अन्तर्गत गर्नुपर्ने काम तदारुकताका साथ गरिने जानकारी दिए ।
बैठक उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा समन्वय होस् अन्योल नहोस् भन्ने उद्देश्य राखेर बैठक आयोजना गरिएको बताइन् । ‘साझेदार कार्यालयहरूको चालु आर्थिक वर्षका योजना र बजेटका विषयमा अद्यावधिक हुन पाइयो । कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ स्पष्ट हुँदै गएको छ । यति नहुँदा महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको थियो । बर्खामा गर्न सकिने काम बर्खामै गरौँ । अहिले गर्न सकिँदैन भनिएका सडक कालोपत्रे सहितका काम बर्खा सकिने वित्तिकै गरौँ’ उपप्रमुख डंगोलले आग्रह गरिन् ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले बैठकमा उठेका सवालहरू अभिलेखीकरण गरेर मन्त्रालय तथा सम्बद्ध कार्यालयमा पठाइने बताए । ‘यी विषयहरु नागरिकलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गरेका छौँ । सबैको साझा प्रयत्नबाट एकीकृत विकासमा योगदान गरौँ ।’ पौड्यालको जोड थियो ।
बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत प्राधिकरणलगायत कार्यालयका अधिकारीहरुले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताएका थिए । पाइप तथा बिजुलीका तार बिच्छ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उनीहरुको भनाइ थियो ।
बैठकमा सडकको मापदण्ड र अहिलेको अवस्था, ट्राफिक व्यवस्थापनको व्यवहारिक र कानुनी पक्ष तथा प्रविधि जन्य सम्भावना, ढल सञ्जालको मर्मत तथा पुनर्स्थापनाको काम, चोकहरूको सुधार, इन्टरनेट सेवा प्रदायकहरुले टाँगेका तार व्यवस्थापन लगायतका विषयहरुमा छलफल भएको थियो ।
सहरमा फैलिएको हैजा र यससँग खानेपानी तथा ढल प्रणालीको सम्बन्ध छलफलको अर्को महत्वपूर्ण विषय थियो । बैठकमा प्रमुख शाहले पार्किङ प्रयोजन देखाएर नक्सा स्वीकृत गरिएका तर ती ठाउँ अन्य प्रयोजनमा ल्याइएका घरधनीलाई स्वीकृत नक्साबमोजिम प्रयोग ल्याउन महानगरले ३५ दिने सूचना जारी गरेको जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु