भरतपुर । भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले निर्माण व्यवसायीकै कारण जनप्रतिनिधिले चाहे अनुसारको कामको प्रगति नपाएको गुनासो गरेको छन् ।
भरतपुर महानगर अन्तर्गतका विभिन्न सार्वजनिक निकायबाट सञ्चालित आयोजनाहरुको प्रगति माथिको छलफल कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले ठेकेदार कम्पनीहरुबाट हेलचक्र्याई भएको भन्दै आपत्ति समेत प्रकट गरे । उनले ठेक्का सम्झौता अनुसारको काम नगरी आलटाल गर्ने कम्पनीहरुलाई कारबाहीको चेतावनी पनि दिए ।
विज्ञापन
‘चाडै काम गर्नुस, नत्र कारबाहीमा पर्नुहुन्छ, उनले भने, ‘एक डेढ महिना पछि बस्ने अर्को समिक्षा बैठकमा आयोजनाको कामको प्रगति भएको खुशीको समाचार सुन्न पाइयोस्’ ।
विज्ञापन
महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबाबु सुवेदीले भरतपुर माहानगर भित्रका विभिन्न २४ वटा निर्माण कम्पनीहरु कालो सुचिमा पर्ने तयारीमा रहेको जानकारी गराए । उनले महानगर सम्झौताबाट पछि नहट्ने भन्दै घाटा नाफा जे भएपनी ठेक्का सम्झौता अनुसारको काम समयमै सम्पन्न गर्न पनि ठेकेदार कम्पनीहरुसँग आग्रह गरे । उनले पटक पटक पत्राचार गर्दा पनि कामको परिणाम नआउनुले उनीहरुको नियत माथि प्रश्न चिन्ह खडा भएको बताए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले करारमा काम गर्ने निर्माण कम्पनीहरुलाई समयमै काम सक्न आग्रह गरे । समयमै काम सम्पन्न नगर्ने कम्पनीहरुलाई स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने पनि उनले प्रष्ट पारे ।
हुलाकी सडकमा बिजुलीको पोलको समस्या, बाइपास सडकमा निकास, भवनको समस्या, भुक्तानीमा ढिलाई र राज्यले एकै पटक धेरै समयको लागि म्याद थप गर्नुले नै समस्या उत्पन्न भएको विभिन्न ठेकेदार कम्पनीहरुले गुनासो गरेका छन् ।
बैठकमा निर्माण व्यवसायीहरुले यस अघिको बैठकमा गरेको प्रतिवद्धता पुरा नभएको सन्दर्भमा पनि समिक्षा गरिएको थियो । बैठकमा संघीय, प्रदेश र स्थानीय निकायबाट भएका बिकासका आयोजनाहरुको बारेमा पनि बृहत छलफल भएको थियो । भरतपुर सिटि हल, देबघाट विद्युतिय शबगृह, प्रचण्ड मार्ग, लिंक रोड, रिङ रोड लगायतका गौरवका आयोजनाहरुको निर्माण कार्यमा ढिला सुस्ती हुँदै आइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु