आइतवार, भदौ २१, २०८२
  • होमपेज
  • समाचार
  • बालेनले सुरू गरे शिक्षा सुधारको अभियान : मापदण्ड पुरा नगर्ने निजी स्कुल बन्द गराउने
समाचार

बालेनले सुरू गरे शिक्षा सुधारको अभियान : मापदण्ड पुरा नगर्ने निजी स्कुल बन्द गराउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा सुधारको काम सुरू गरेका छन् । महानगरभित्रका विद्यालयहरूमा शिक्षा सुधारका लागि उनले अध्ययन र परामर्श गरिसकेका छन् भने सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेका छन् ।

बालेनले महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, निजी तथा सरकारी विद्यालय हेर्ने विभागीय प्रमुख, परीक्षाका कर्मचारी, लेखा र प्रशासन प्रमुखलगायत शिक्षासँग सम्बन्धित सबै विभागका कर्मचारीलाई भेटेर शिक्षा सुधारकै विषयमा लामो छलफल गरेर निर्देशन दिएको बताइएको छ ।

विज्ञापन

जेठ २३ गते शाहले सम्बन्धित सबैलाई भेटेर दिएको निर्देशनअनुसार शिक्षा विभागले बुधबारै नयाँ कार्ययोजना तयार गरेको बताइएको छ । महानगरभित्र कुल ८९ सार्वजनिक विद्यालय छन् । जसमध्ये ५९ मावि र ३० आधारभूत तह सञ्चालनमा छन्। शाहले सम्बन्धित सबैलाई ६ बुंदे निर्देशन दिएको बुझिएको छ ।

विज्ञापन

उनले काठमाडौं महानगरका सामुदायिक माविमा पढाइका साथै सीपमूलक तालिम अनिवार्य गर्ने, सबै सामुदायिक विद्यालयलाई नमुना बनाउने, विद्यालयका शौचालय स्तरोन्नति गर्ने, बालबालिकालाई किताबको भारी नबोकाउन लकरको व्यवस्था गर्ने, इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षाका साथै विश्वस्तरमा जोड्न सकिने प्रविधिसहितको शिक्षामा जोड दिने र निजी विद्यालयको पनि अडिट गर्न निर्देशन दिएका छन् ।

शाहको निर्देशनअनुसार अब निजी विद्यालयहरूले मापदण्ड अनुसार कम गरे नगरेको रिपोर्ट बुझाउनुपर्ने छ । लिएको शुल्क अनुसारको गुणस्तर नभेटिएको खण्डमा कारबाहीको प्रक्रिया समेत अगाडी बढाउने तयारी गरिएको छ ।

निजी विद्यालयले मासिक शुल्क असुलेअनुसारको गुणस्तरीय शिक्षा दिएको छ वा छैन यसको पनि अडिट गरिने भएको छ। मापदण्ड पूरा गर्न नसक्ने निजी विद्यालय बन्द सम्मको योजना बनेको एक शिक्षा अधिकारीले जानकारी दिए ।

काठमाडौं महानगरभित्रका विद्यालयमा प्रारम्भिक बाल्यकाल शिक्षादेखि सूचना प्रविधि शिक्षाको परिचय गराइने व्यवस्था कार्यान्वयन गराउने तयारी छ । अन्तर्राष्ट्रिय विद्यालयलाई राष्ट्रिय विद्यालयसँग सहकार्य गरिने र संस्कृति, जीवनशैली र शिक्षा प्रणाली आदि आदानप्रदान गर्न भगिनी सम्बन्ध सुरु गरिने तयारी पनि शिक्षा विभागले गरिरहेको छ।

मेयर बालेनले शिक्षा क्षेत्र सुधारका लागि पर्याप्त बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाएको बताइएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस