शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ले घरेलु बक्सअफिसमा सुनामी ल्याएको छ । मल्टीप्लेक्समा सर्वाधिक शोज पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको फिल्मले दुई दिनमा कीर्तिमानी कमाई गरेको छ । शुक्रवार र शनिवार जताततै हाउसफुलको व्यापार गरेको फिल्मले दुई दिनमा ६ करोडको आँकडा छोएको वितरक मनोज राठीले जानकारी दिए ।
उनले भने, ‘फिल्मको दुई दिने कमाई ६ करोड पुगेको छ । यो कीर्तिमानी कमाई हो । आजसम्म कुनै नेपाली फिल्मले यो अंक जोडेको रेकर्ड छैन । शुक्रवार र शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा फिल्म हाउसफुल थियो । शनिवार सार्वजनिक विदा भएकाले शुक्रवारको तुलनामा व्यापार केही माथि छ । काठमाडौं र मोफसलको व्यापारमा पनि खासै ठूलो अन्तर छैन ।’
विज्ञापन
विदेश राइट्सबाटै ‘कबड्डी ४’ मालामाल
विज्ञापन
‘कबड्डी ४’ले प्रदर्शनको पहिलो हप्तामा १० करोडको आँकडा पार गर्ने वितरक राठीको आँकलन छ । माउथ पब्लिसिटी बलियो भएकाले आइतवार पनि देशभर फिल्म हेर्ने दर्शकको उपस्थिति उल्लेख्य रहेको उनले बताए । ब्रान्ड फिल्मको सिरिज, बलियो स्टारकास्ट, गतिलो प्रचार, ट्रेलर र गीतले बढाएको हाइपले गर्दा फिल्मले इनिसियल व्यापारमा रेकर्ड बनाएको उनको भनाई छ ।
‘कबड्डी ४’को सफलताले सबैभन्दा बढी फाइदा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरलाई भएको छ । उनीहरु अभिनीत पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । यो फिल्मले उनीहरुको करिअरलाई नै ठूलो राहत दिएको छ । मिरुनाले त पहिलो पटक सफलताको सुःख प्राप्त गरेकी हुन् । फिल्ममा उनको स्वभाविक अभिनयलाई दर्शक र समीक्षकले रुचाएका छन् ।
नेपाली फिल्मको इतिहासमा कमाई गर्ने कमाउने फिल्मको रेकर्ड दीपकराज-दीपा समुहको ‘छक्का पञ्जा’ सिरिजसँग सुरक्षित छ । यसका तीनवटै सिरिजको लाइफटाइम कलेक्सन १६ करोड आसपास छ । अब यो रेकर्ड तोड्नु पर्ने चुनौती ‘कबड्डी ४’माथि छ । दुई दिनको इनिसियल व्यापार हेर्दा फिल्मलाई ‘छक्का पञ्जा’ सिरिजको रेकर्ड तोड्नका लागि दुई हप्ता नै काफी हुने देखिन्छ ।
अघिल्ला सिरिज झैं यसपटक पनि वीरकाजी (दयाहाङ राई) कै बिहेको रस्साकस्सीमा फिल्म घुमेको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु