केही वर्षयता नेपाली फिल्म क्षेत्रलाई सिरिज फिल्मले काँध थापेको छ भन्दा फरक पर्दैन । जब फिल्म क्षेत्रमा संकट आउँछ तब हिट फिल्मको सिरिजले जीवन दिने गर्छ । नयाँ नाममा बनेका फिल्मलाई लगानी उठाउन पनि धौ-धौ परेको अवस्थामा हिट फिल्मका सिरिजले वर्षेनी बक्सअफिसमा पैसाको वर्षात गरेका छन् । यसैले निर्माताहरु पनि सिरिजकै पछाडि दौडिरहेका छन् ।
तर, नेपालमा हिटको ग्यारेन्टी गर्ने फिल्मका सिरिज औंलामा गन्न सकिने मात्र छन् । दर्शकको सबैभन्दा बढी विश्वास कमाएको सिरिज ‘कबड्डी’ हो । यसका तीनवटै सिरिजले बक्सअफिसमा लगानीको दोब्बर-तेब्बर कमाई गरे । नेपालमा मात्र नभइ विदेशमा पनि ‘कबड्डी’का तीनटै सिरिजले ठूलो कमाई गरेका थिए । अब यसको चौथौं सिरिज आगामी जेठ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।
विज्ञापन
ट्रेलर र ‘केशरी’ बोलको गीतले फिल्मको नेपाल र विदेशमा जबर्जस्त हाइप बनेको छ । त्यसमाथि यसलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले दर्शकहरु फिल्म हेर्नका लागि औंला भाँचेर बसेका छन् । यसपटक काजी (दयाहाङ राई) को बिहे हुन्छ कि हुँदैन भन्ने कुराले पनि प्रतिक्षीत बनेको यस फिल्मले नेपालमा २०७८ यताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने धेरैको विश्लेषण छ ।
विज्ञापन
‘कबड्डी ४’ नेपालसँगै विदेशी भूमिमा पनि प्रदर्शनका लागि तयारीमा अवस्थामा छ । बेलायत, अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, हङकङ, जापान, क्यानडालगायतका देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । जसबाट निर्माताको हातमा २ करोड परेको छ । नेपाल प्रदर्शन अगावै लगानी सुरक्षित गरेको फिल्मको डिजिटल राइट्स पनि महंगोमा विक्री भइसकेको जानकारी प्राप्त छ ।
कोरोना महामारीका कारण ‘कबड्डी’को तेस्रो सिरिजको विदेश प्रदर्शन चौपट भएको थियो । तर, चौथौ सिरिजले निर्मातालाई मालामाल बनाएको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङका अलावा सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङलगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु