काठमाडौँ, भदाैँ १६ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । “काठमाडौंमा आज बदली हुनेछ । १२ बजेपछि हल्का वर्षाको सम्भावना छ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “दिउँसो र राति नै काठमाडौँ बदली भएर हल्का वर्षाको सम्भावना छ ।”
आज सुदूरपश्चिममा भने तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना रहेको उनले बताइन् । “सुदूरपश्चिममा आज धेरै वर्षाको सम्भावना छ । हिजो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा मापन भएको छ,” मौसमविद् मानन्धरले भनिन् । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई क्षेत्रका एकदुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा छ । अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको विभागले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु