काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रहरीका भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको दाबी गरेका छन् । शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उहिलेको अवस्था हेर्दा अहिले प्रहरीको अवस्थामा धेरै सुधार भइसकेको बताएका हुन् ।
‘पहिले यस्तो प्रहरी कार्यालय प्रदेशमा कल्पना गर्न सकिन्थ्यो ? यहाँ मात्र होइन कुनै प्रदेशमा सकिन्थ्यो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले यस्ता भवन त अस्पताल कति, कार्यालय भवन कति, प्रशासकीय भवन कति, प्रहरीका भवन कति ।’
‘अहिलेको प्रहरीलाई थाहा छैन, पहिलेको प्रहरीको युनिफर्म कस्तो हुन्थ्यो ? खासमा भन्ने हो भने हाम्रो प्रहरी महानिरीक्षक दीपक थापाले पनि देख्या छैन । उहाँहरू जागिर खानुभएकै थिएन,’ प्रधानमन्त्री ओलीले भने ।
आफूलाई जति बेला प्रहरीले पक्रिन थालेको थियो त्यो बेला हालका आईजीपी थापा जन्मिन नै बाँकी रहेको पनि उनले भन्न भ्याए । उनले भने, ‘हामीलाई जतिखेर प्रहरीले पक्रिन्थ्यो, उहाँहरू त्यस बेला अलि… जन्मिन बाँकी नै थियो । त्यसैले उहाँहरूले खास प्रहरीको हालत के थियो त्यो देख्नुभएको छैन ।’
अहिले प्रहरी बसे जसरी पहिलेका प्रहरीले बस्न समेत नमिल्ने अवस्था रहेको प्रधानमन्त्री ओलीले बताए । ‘माडमा चोबेर आइरन लगाएको पोसाक हुन्थ्यो । निहुरिए भाँचिहाल्थ्यो, त्यस कारण खडाको खडा । खाकीको पाइन्ट हुन्थ्यो, खाकीको हाप पाइन्ट हुन्थ्यो, क्रिज चाहिँ तरबारजस्तो देखिन्थ्यो । पाइन्ट यसो छुँदा कक्य्राक्क गर्थ्यो माड,’ उनले भने ।
उति बेलाका प्रहरी चौकीको हालत पनि निकै कमजोर रहेको उनले बताए । उनले भने, ‘अहिले जस्तो कहाँ थियो भनेको, प्रहरी चौकी गौँथलीको गुँडजस्तो हुन्थ्यो यत्रो । हामीले देखेको ।’
आफू २०२५ सालबाट गिरफ्तार हुन थालेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस बेलादेखि आफूले प्रहरी र प्रहरीका कार्यालय देख्न थालेको बताए । उनले भने, ‘म झापाको मान्छे झापामा एउटा फुसको टहरा थियो ।’
फेसबुक प्रतिक्रियाहरु