काठमाडौँ । नेकपा माओवादी केन्द्रले सङ्गठन निर्माण र विस्तारका सम्बन्धमा ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयसहितको सर्कुलर प्राप्त भइसकेको माओवादी केन्द्रका एक प्रदेश अध्यक्षले बताए ।
ती अध्यक्षका अनुसार हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार पार्टीले सर्कुलर प्राप्त भएको हो । सर्कुलरको ७ नम्बर बुँदामा ‘सङ्गठन निर्माण र विस्तारबारे’ भन्दै ११ बुँदामा आवश्यक निर्देशन प्राप्त भएको उनको भनाइ छ ।
जसमा विधानको व्यवस्था अनुसार सङ्गठित र साधारण पार्टी सदस्यहरूको अन्तरसम्बधलाई स्पष्ट गर्दै सङ्गठित सदस्यहरूलाई अभियानको रूपमा सेल, टोल र इकाईहरू गठन गरी सङ्गठित सदस्यहरू कसैलाई पनि पार्टी कमिटी विहीन नबनाउने गरी व्यवस्था गर्न केन्द्रीय कार्यालयबाट निर्देशन भएको छ ।
यस्तै पार्टी कमिटीहरूलाई ‘एक कमिटी एक उत्पादन इकाई’ को रूपमा श्रम तथा उत्पादन अभियानसँग जोड्ने र पार्टीको सबै तहमा सङ्गठित जनशक्ति विन्यास गर्दा आर्थिक उत्पादन अभियानको क्षेत्रमा प्राथमिकता दिनेगरी सर्कुलर भएको छ ।
पार्टी केन्द्रीय उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ को नेतृत्वमा आर्थिक उत्पादन विभागलाई चलायमान बनाउने, सङ्गठनकर्ताहरूको व्यापक विकास र विस्तारमा जोड दिने, पार्टीको प्रचारात्मक कार्यहरूलाई व्यवस्थित र प्रभावकारी बनाउने जस्ता निर्देशन भएका छन् ।
यस्तै आगामी महाधिवेशनसम्ममा पार्टीका सङ्गठित सदस्यहरूको आन्तरिक मूल्याङ्कन र जनवादी प्रतिस्पर्धाको उचित समायोजन हुनेगरी नविनतम् मूल्याङ्कन मापदण्ड र निर्वाचन विधिको ठोस प्रस्ताव तयार गर्ने, आलोचना आत्मालोचनाको अभ्यास गर्ने र तत्काल सबै कमिटीहरूमा आत्मालोचनाको प्रक्रिया अगाडि बढाउने विषय समेत सर्कुलरमा उल्लेख छ।
यस्तै पार्टीको निर्णय अनुसार काम कारबाहीहरू भए नभएको अनुगमन र मूल्याङ्कन प्रभावकारी बनाउने, सबै स्तरका कार्यालय तथा सचिवालयलाई व्यवस्थित गर्ने, नियमित बैठक बस्ने सर्कुलरमा उल्लेख छ।
यसबाहेक स्थायी समितिको बैठकले विभिन्न स्तर र रूपमा देखा परेका गुट र स्वार्थ समूहहरू विघटन गर्ने निर्णय समेत गरेको छ । जसबारे सामूहिक सङ्कल्पसहित संस्थागत रूपमा पार्टी सङ्गठनहरू सञ्चालन गर्ने प्रतिबद्धता बैठकले गरेको सर्कुलरमा उल्लेख छ।
‘बैठकबाट गुट र स्वार्थ समूहहरूका अलग बैठक बस्ने, पार्टीको आधिकारिक नीति, निर्णय पद्धति विपरीत सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक प्रचार गरी पार्टी र आन्दोलनलाई कमजोर पार्ने सबै प्रकारका गतिविधि माथि रोक लगाइएको छ’, सर्कुलरमा भनिएको छ । पार्टीको यो निर्णय र स्पीरिट विरुद्ध गतिविधि गर्ने जो कसैलाई अनुशासनको कारबाहीको दायरामा ल्याइने निर्णय गरिएको जानकारीसहितको सर्कुलर आएको ती अध्यक्षको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु