बुटवल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि जेलभित्र पनि अन्याय भएको बताएका छन् । जिल्ला कारागार भैरहवा पुगेर लामिछानेलाई भेटेका उनले यस्तो बताएका हुन् ।
पार्टीको लुम्बिनी प्रदेशस्तरीय बिस्तारित बैठकमा भाग लिन जाने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज बिहान लामिछानेलाई भेटेका हुन् ।
भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भट्टराईले लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न दिनुपर्ने बताए । लामिछाने निर्वाचित सांसद भएकाले उनी भाग्ने र थप अपराध गर्ने सम्भावना नभएकाले थुनामा राखिरहन आवश्यक नभएको तर्क गरे ।
उनले भने–‘जनताको प्रतिनिधि भाग्ने र थप अवरोध गर्ने कुरा हुँदैन भन्ने अनुमान गरेर बाहिर राखेर मुद्दा फेस गर्न दिनुपर्ने हो ।’
लामिछानेलाई कारागारमा पत्रपत्रिका उपलब्ध नगराइँदा सूचनाबाट बञ्चित गरिएको र कोठामा एक्लै राखेको देखेर अप्ठेरो महसुस गरेको बताए । यसबारे आफूले माथिल्लो निकायमा कुरा गर्ने भट्टराईले बताए ।
भट्टराईले भने–‘पत्रपत्रिका ल्याएर दिँदो पनि रहेनछ । हामी त पञ्चायतकालमा, पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो । बस्ने ठाउँ पनि साँघुरो रहेछ । जेल भनिसकेपछि त खुला ठाउँ हुन्छ । यसबारे म सम्बन्धित ठाउँमा भनौंला ।’
भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध सांधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु