आइतवार, साउन १२, २०८२
  • होमपेज
  • Breaking News
  • प्रचण्ड राजनीतिको ब्रान्ड हो, सबै उहाँको टाउकोमा खन्याएर हामी उम्किन मिल्दैन : वर्षमान पुन
Breaking News

प्रचण्ड राजनीतिको ब्रान्ड हो, सबै उहाँको टाउकोमा खन्याएर हामी उम्किन मिल्दैन : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको पुनको भनाइ थियो ।

 

विज्ञापन

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्रान्ड हो, हामीले उहाँलाई ब्रान्डका रूपमा स्थापित गरेका छौँ । उहाँको ब्रान्ड भ्यालु राम्रो छ ।’

विज्ञापन

यद्यपि अध्यक्ष प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए । पुनले पटक पटक मन्त्री, सांसद भएका र दशक अघिदेखि पार्टीको महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरूले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उम्किन नपाउने स्पष्ट गरे ।

‘कमरेड प्रचण्डले पनि आफूलाई रूपान्तरणको प्रयत्न गर्नुपर्छ । उहाँले त्यो गर्नै पर्छ । साथै हामी दोस्रो तेस्रो तहका नेताहरू छौँ । अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौँ’, पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जा मन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौँ । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौँ । पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ । हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा गर्‍यौँ ? गर्न हुने र नहुने गर्‍यौँ ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौँ ।’ कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रूपमा नेपालका अन्य दलको तुलनामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरू अरूभन्दा असल र मुलुकको हितप्रति इमानदार रहेको दाबी गरे ।

दोस्रो तहका नेताहरूले पहिलो र पछिल्लो पुस्ताबिच समन्वय र सन्तुलन मिलाएर पार्टीलाई गतिशील बनाउने भूमिका खेल्नुपर्ने उनले बताए । ‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेस्रो पुस्तालाई मिलाउँदा पार्टी सङ्गठन गतिशील हुन्छ । हामी दोस्रो पुस्ताका नेताहरूले अहिले त्यही भूमिका खेल्नुपर्छ । एकाङ्की रूपमा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन । नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन । सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन ।’

फरक प्रसङ्गमा पुनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको निरङ्कुश, स्वेच्छाचारी र भ्रष्ट प्रवृत्तिले जनताको बलमा सत्ता च्युत भएका प्रतिगामी शक्तिले टाउको उठाउने जमर्को गरेको आरोप लगाए । उनले ओलीले अहिलेको प्रणालीमाथि विगतदेखि नै आक्रमण गर्दै आएको भन्दै फेरि संसद् विघटन गर्न सक्ने दाबी गरे ।

‘निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिका केपी ओली नेतृत्वको वर्तमान सरकार बनेको एक वर्षमा राज्य दोहन र भ्रष्टाचार डरलाग्दो रूपमा बाहिर आएको छ । प्रधानमन्त्री सबै पार्टीलाई तोडफोड गरेर साइजमा राख्न र विपक्षीलाई तर्साउन तल्लीन हुनुहुन्छ । आफ्नो कुर्सीमाथि खतरा आइपर्दा उहाँले फेरि संसद् विघटन गर्ने तयारी गर्नुभएको छ भन्ने सुन्नमा आएको छ । यसअघि दुई पटकसम्म गरेको संसद् विघटन सही थियो भन्ने पुष्टि गर्न उहाँले त्यो काम नगर्नुहोला भन्न सकिँदैन’, पुनले भने ।

उनले ओलीजस्तै प्रवृत्तिका पुराना पार्टी र नेताका अयोग्यता, भ्रष्टाचार र स्वेच्छाचारी कार्यशैली देखाएर व्यवस्था नै खराब भन्ने स्थापित गर्न खोजिएकाले परिवर्तन पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सन्दीप पुन, ममता अधिकारी , दीपा जैसी तथा उप–महासचिवद्वय निरज श्रेष्ठ जटिल कार्की पनि बोलेका थिए । उनीहरूले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस