काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरेका हुन् ।
उनले काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरे । उनले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने स्पष्ट पारे ।
उनले भने, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ । मलाई चाहिन्न पद । मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईँहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् । काम बिनाको पद चाहिँदैन । कुनै पनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिन । मलाई काम गर्ने क्षेत्र चाहियो । एउटा जिल्ला की, दुई वटा जिल्ला की आधा जिल्ला की, एउटा पालिका की । क्षेत्र भनेको । जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचनाहरू छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ ।’
वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्याउनुपर्ने बताए ।
फेसबुक प्रतिक्रियाहरु