काठमाडौं। नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।
दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखिसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पहिलो दिने ४९ जनाले आफ्नो धारणा राखेका थिए, अब ७७ जनाले आफ्नो धारणा राखेपछि आजै बैठक सम्पन्न हुने पनि गौतमले जानकारी दिए । आजको
बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको पनि गौतमले जानकारी दिए।
‘मातहतका कमिटीहरु मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरुलाई संविधान अनुकुल कार्यकारी कमिटी बनाउनु पर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको छ,’ उनले भने, ‘सबैतिरको रिपोर्टिङ अनुसार पार्टीको १ लाख ३९ हजार सदस्यता बृद्धि भएको छ । यो प्रतिशतका हिसावले करीब २८ प्रतिशत हो।’ उनका अनुसार बैठकमा सरकारको प्रभावकारिता, मूल्यबृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरुले कुरा उठाएको जानकारी दिए ।
पूर्व राष्ट्रपतिज्युको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि जानकारी दिए । ‘नेपालको संविधानको भाग–६ र धारा–६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ, धारा–६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ भन्ने कुरा सुनिश्चित गरिएको छ । ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुने छ भनिएको छ, धारा–६१ को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यस हिसावले राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ ।’
‘यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय पनि होइन । यो महत्वपूर्ण राजनीतिक विषय हो,’ उनले भने, ‘यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ ।’
उनका अनुसार आजको केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिए । ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्युले अन्तिम बैठकको अन्तिमा सम्वोधन गर्दा केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ ।’
फेसबुक प्रतिक्रियाहरु