काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसद्का दुई ठुला दल मिलेर बनेको करिब दुई तिहाइ सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् ।
कृषि विकास बैंक कर्मचारी सङ्गठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम नगरेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।
आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको उनको भनाइ थियो ।बजेट नियमित र परम्परागत ढर्राबाट ल्याइएकाले सरकारले जतिसुकै दाबी गरे पनि अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार हुने सङ्केत नदेखिएको बताए । तर, नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले भने केही आशा जगाएको पुनले उल्लेख गरे ।
पुनले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए । हरेक महिनाजसो केन्द्रीय बैंकले ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरुबाट खिच्ने गरेको र लगानी योग्य रकमको मौज्दात ७ खर्ब पुग्नुले बजारको मनोबल उठ्न नसकेको पुनले बताए ।
‘दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउने सकेन । दुई तिहाइको सरकार बन्नु आफैँमा विशिष्ट अवस्था हो । तर, सङ्ख्यात्मक रूपमा यति बलियो सरकारले वित्त नीति राम्रो ल्याउन सकेन’, पुनले भने, ‘वित्त नीति नै राम्रो नआएपछि मौद्रिक नीतिले धेरै गर्न सक्दैनथ्यो । तर, गभर्नरले तुलनात्मक रूपमा मौद्रिक नीति राम्रो ल्याउनुभएको छ ।’
समग्रमा वित्त नीतिले बजार चलायमान बनाउने भए पनि अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित हुन सक्ने खतरा पुनले औँल्याए । त्यसले भविष्यमा अर्थतन्त्रलाई थप समस्यामा धकेल्न सक्नेतर्फ सरोकारवाला पक्ष अहिल्यै चनाखो बन्नुपर्ने उनको भनाइ थियो ।
कोभिड–१९ महामारीपछि केन्द्रीय बैंकले ल्याएको पुर्नकर्जा नीति राम्रो र सान्दर्भिक भए पनि व्यवसायीले पुर्नकर्जामार्फतको पैसा अनुत्पादक क्षेत्रमा लगानी गर्दा अर्थतन्त्र खस्किएकाे अनुभवबाट शिक्षा लिन सक्नुपर्ने उनले औँल्याए । ‘कोरोनापछि अर्थतन्त्र सुधार गर्ने उद्देश्यले पुर्नकर्जाजस्ता नीति राम्रो आएको थियो । पुर्नकर्जाको रकम अनुत्पादक क्षेत्रमा लगानी गरिएका कारण अर्थतन्त्र पछिल्लो तीन वर्ष ‘स्लो डाउन’ मा गयो’, पुनले भने, ‘मौद्रिक नीतिका केही उदार व्यवस्थाले बल्लतल्ल लयमा फर्कन खोजेको अर्थतन्त्र फेरि अप्ठेरोमा जान्छ छि भन्नेबारे समयमै सचेत हुनुपर्छ ।’
फेसबुक प्रतिक्रियाहरु