वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई निशाना बनाएका छन् । ट्रम्पले टुथ सोसलमा ओबामा गिरफ्तार भएको एआई भिडियो पोस्ट गर्दै ‘कोही पनि कानुनभन्दा माथि छैन’ भनेर क्याप्सन लेखेका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावमा ओबामालाई धाँधलीको आरोप ट्रम्प प्रशासनले लगाइरहेकै समयमा उनको यो भिडियो आएको हो ।
ट्रम्पले टुथ सोसलमा पोस्ट गरेको एआई भिडियोमा पूर्व राष्ट्रपति बराक ओबामाले कानुनभन्दा माथि कोही पनि छैन भन्दै गरेको देखाइएको छ । यो राष्ट्रपतिलाई लक्षित गरेर भनिएको हो । यसपछि धेरै पूर्वअमेरिकी राष्ट्रपति र अमेरिकी राजनीतिज्ञहरूले कानुनभन्दा माथि कोही पनि छैन भन्दै गरेको देखाइएको छ ।
ओबामालाई ह्वाइट हाउसको कार्यालयमा ट्रम्पसँग बसेको देखाइएको छ । जहाँ दुई एफबीआई एजेन्टहरू आउँछन् र ओबामालाई हतकडी लगाउन थाल्छन् । उनीहरू ओबामालाई घिसार्दै लगेको देखाइएको छ ।
भिडियोमा ओबामाको गिरफ्तारीको समयमा नजिकै बसेका ट्रम्प हाँसिरहेको देखाइएको छ । यसपछि ओबामा सुन्तला रंगको जम्पसूट लगाएर जेलभित्र जाँदै गरेको देखिन्छ ।
उनी जेलमा दुःखी भएर बसिरहेका छन् । ट्रम्पले यो भिडियो काल्पनिक भएकोबारे कुनै अस्वीकरण जारी गरेका छैनन् । तर धेरै मानिसहरूले ट्रम्पको कदमको आलोचना गरिरहेका छन् ।
ओबामामाथि धोखाधडीको आरोप
अमेरिकी गुप्तचर निकायकी प्रमुख तथा हालै ट्रम्प प्रशासनमा सामेल भएकी पूर्व कांग्रेस सदस्य तुलसी ग्याबार्डले २०१६ को राष्ट्रपति चुनावमा ओबामा प्रशासनमाथि धोखाधडीको आरोप लगाएकी छिन् ।
पूर्वराष्ट्रपति बाराक ओबामा र उनका शीर्ष अधिकारीहरूले ट्रम्पको वैध विजयमा शंका गर्न जानाजानी रुसी हस्तक्षेपको झूटो कथा बनाएको उनीहरूको भनाइ थियो । ग्याबार्डले यस विषयमा आपराधिक अनुसन्धान र मुद्दा चलाउन माग गरेकी छिन् ।
उनले पूर्व डीएनआई जेम्स क्ल्यापर, सीआईए निर्देशक जोन ब्रेनन र एफबीआई निर्देशक जेम्स कोमीमाथि झूटा गुप्तचर रिपोर्ट तयार गरेको आरोप लगाएकी छिन् ।
यसलाई देशद्रोहको षड्यन्त्र भन्दै यो सबै ट्रम्पलाई कमजोर पार्ने लामो समयदेखि चलिरहेको षड्यन्त्रको जग भएको ग्याबार्डले बताइन् ।
फेसबुक प्रतिक्रियाहरु