काठमाडौं । नेकपा एमाले सचिवालयको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि नेताहरुले आफ्ना कुरा राखेका थिए । पौडेलले ल्याएको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने लगायत थियो ।
तर धेरैले चासोका साथ हेरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रस्तावमा भने धेरै लामो छलफल चलेको छ । ‘सबै नेताहरुले आफ्नो कुरा राख्नुभयो । यद्यपि सहमति जुट्न सकेन’, बैठक स्रोतले भन्यो, ‘पछि बहुमतका आधारमा यो प्रस्ताव पारित भयो ।’
विधानको धारा ६४ मा रहेको यो व्यवस्थाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नोकझोंक नै भएको थियो । विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका सहित पार्टी विधान तीन पटक छापिएको प्रशंग उठाएका थिए ।
प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्दै जाँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रशंग उठाएका थिए ।
पोखरेल बोल्दै गर्दा ओलीले आपत्ति जनाए । ओलीले भने- ‘तपाई कर्ण थापाको कुरा बोकेर आउने हो ?’
स्रोतका अनुसार ओलीले कर्ण थापाको कुरा बोकेर नआउन भनेपछि ईश्वर पोखरेल झोक्किएका थिए । ‘म आफ्नो कुरा राखिरहेको छु, कर्ण थापासँग मलाई किन जोड्नुहुन्छ ?,’ पोखरेलले उल्टै प्रश्न गरेका थिए ।
यसपछि भने ओली बोलेनन् । पोखरेलले आफ्ना कुरा राख्न थाले । बोल्ने क्रममा पोखरेलले ओलीलाई नेतृत्व छोड्न सुझाव नै दिएका छन् ।
‘तपाई र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो,’ पोखरेलले भने, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले छोड्नुस् (नेतृत्व) ।’
पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गरेका थिए । ‘आत्मालोचना भन्ने चिज छैन, विचारको विमर्शलाई झगडा भन्नुहुन्छ,’ ओलीसँग नेतृत्व छोड्नुको विकल्प नरहेको तर्क पोखरेलले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु