चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण असार ६ गते शुक्रबारदेखि सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी छन् । उद्घाटन खेलमा नेपाल पुलिस स्कुल र चितवन मावि भिड्नेछन् । खेल भरतपुर ७ कृष्णपुरमा दिउँसो ४:३० बजे सुरु हुनेछ ।
विज्ञापन
प्रतियोगिताका लागि यस अघि छनौट चरणका खेलहरु आयोजना भएका थिए । ६३ स्कुल सहभागी छनौट चरणबाट १२ स्कुल छनौट भएका थिए । यस्तै गत वर्ष सम्पन्न मेयर कपको लिग चरणबाट नकआउटमा पुगेका १२ टोली सिधै छनौट भएका हुन् । गत वर्ष लिग भए पनि यस वर्ष सिधै नक आउट खेलाइने अध्यक्ष कार्कीले बताए ।
विज्ञापन
१३ गतेसम्म हुने प्रतियोगिताका खेलहरु विभिन्न ४ वटा मैदानमा खेलाइनेछ । संघका महासचिव रामहरि ढकालका अनुसार भरतपुर ७ कृष्णपुर, भरतपुर १२ रामवेल सामुदायिक मैदान, भरतपुर १४ सुन्दरबस्ती र स्मल हेभन स्कुलको मैदानमा खेलहरु हुनेछ ।
यसैबीच छनौट चरणबाट छनौट भएका दुई स्कुल बाहिरिएका छन् । गौरीगन्ज मावि र प्रभात माविका खेलाडीहरुविरुद्ध उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा कागजातमा त्रुटी देखिएकोले ती स्कुललाई कारबाही गरिएको उनले बताए । कारबाहीमा परेका गौरीगन्ज माविको स्थानमा अर्बिट स्कुल र प्रभातको स्थानमा पारिजात स्कुल छनौट भएका छन् । यी दुई स्कुल छनौट चरणमा आफ्नो समूहमा चौथो भएका थिए ।
भरतपुर महानगरपालिकाको आर्थिक सहयोग तथा प्रवर्द्धनमा गत वर्षबाट सुरु भएको मेयर कप नेपालकै विद्यालय स्तरको सबै भन्दा ठूलो प्रतियोगिताको भएको संघका अध्यक्ष कार्कीको भनाइ छ । गत वर्ष अमर माविले मेयर कपको उपाधि जितेको थियो भने विश्वप्रकाश मावि उपविजेता भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु