शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • Breaking News
  • मेयर रेनु दाहाल बनिन् ‘शिलापत्र वर्षव्यक्ति २०८१’
Breaking News

मेयर रेनु दाहाल बनिन् ‘शिलापत्र वर्षव्यक्ति २०८१’

चितवन। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘शिलापत्र वर्षव्यक्ति २०८१’ चयन भएकी छन् । विधाविज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा दाहाल ‘वर्षव्यक्ति’ चुनिएकी हुन् ।

देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानितसमेत भइसकेकी छन् ।

विज्ञापन

वर्षव्यक्तिको मनोनयनमा परेका पाँच जना चर्चित व्यक्तिमध्ये भरतपुर महानगरकी प्रमुख दाहाललाई वर्षव्यक्ति २०८१ बनाउन कुल मतको ४६ दशमलव ६ प्रतिशत मत परेको छ । सर्वेक्षणमा १५ हजार ७२ उत्तरदाता सहभागी भएका थिए । यसैगरी, वर्षव्यक्तिको मनोनयनमा रहेका बाँकी चार जना २०८१ सालका प्रमुख समाचार निर्माता चुनिएका छन्, जसमा नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सविच पारस खड्का, वरिष्ठ मु्टुरोग विशेषज्ञ डा. भगवान कोइराला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ छन् ।

विज्ञापन

 

‘शिलापत्र वर्षव्यक्ति २०८१’ घोषित भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबारे संक्षिप्त चर्चा

२०७४ सालमा भरतपुर महानगरपालिकाको मेयरमा चुनाव लड्दा रेनु दाहाले ठूलै लफडा झेल्नुपरेको थियो । उनको उम्मेदवारीदेखि विजयसम्मलाई धेरैले ‘नातावाद’को आरोप लगाए । उनी पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । त्यो बेला उनलाई रेनु दाहालभन्दा पनि धेरैले प्रचण्डकी छोरी भनेरै चिन्थे । त्यसैले पहिलोपल्ट चुनाव जित्न उनलाई हम्मेहम्मे नै परेको थियो । एमालेका देवी ज्ञवालीलाई उनले २ सय ३ मतले जितेकी थिइन् ।

२०७९ को चुनावमा दोस्रो कार्यकालका लागि उनी भारी मतले निर्वाचित भइन् । यसपल्ट उनले नेकपा एमालेकै विजय सुवेदीभन्दा झण्डै १२ हजार बढी मत ल्याइन् । यद्यपि, त्यो बेला उनी माओवादी केन्द्र र नेपाली कांग्रेसको साझा उम्मेदवार थिइन् । तर, उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘दोस्रोपल्ट मैदानमा उत्रिँदा रेनु दाहालको परिचय र छवि बदलिइसकेको थियो । उनी प्रचण्डकी छोरीभन्दा पनि मेयर रेनु भनेर स्थापित भइसकेकी थिइन् ।

यो सबै आफूले महानगरमा बसेर गरेको कामको नतिजा भएको उनी बताउँछिन् । उनी स्ययम्‌ले पनि भन्ने गरेकी छन्, ‘पहिला मलाई प्रचण्डकी छोरी भनेर चिन्थे, अहिले प्रचण्डलाई रेनुको बा भनेर चिन्छन् ।’ उनी अब चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्ने योजनामा छिन् । ‘काम गरेर देखाएकी छु, भोट माग्न नगई घरमै बसेर पनि चुनाव जित्छु, चितवनवासीले मलाई जिताउँछन्,’ उनको आत्मविश्वास छ ।

कार्यसम्पादनमा निरन्तर अगाडि

उनी नेतृत्वको भरतपुर महानगरपालिका २०८१ सालमा कार्यसम्पादन मूल्यांकनमा लगातार तेस्रो वर्ष पनि उत्कृष्ट घोषित भयो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशका अन्य ६ महानगरपालिकालाई जितेर भरतपुर उत्कृष्ट बनेको हो ।

यसअघि दुई आर्थिक वर्षमा पनि भरतपुर पहिलो भएको थियो । कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट हुँदा संघीय सरकारबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान बढेर जान्छ ।

पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना र राजस्वको विभाजन गरे/नगरेको सूचकका आधारमा मूल्यांकन गरिन्छ ।

 

भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेका थिए ।

देशभरका ७ सय ५३ पालिकामध्ये भरतपुर शहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्छ्योटलगायतका विषयमा पनि उत्कृष्ट बन्दै आएको छ ।

विकासका काम

पूर्वाधार विकासमा पनि महानगरको कामलाई लिएर स्थानीय विपक्षी नेताहरू पनि सन्तुष्ट सुनिन्छन् । नारायणी नदीमा २३ किलोमिटरमा तटबन्ध बनेको छ । भरतपुर विमानस्थलको विस्तार कार्य चलिरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अभिभारा पनि महानगरले नै लिएको छ । एसियाली मापदण्डको ६ लेन सडक तयार भइसकेको छ ।

नेपालकै सबैभन्दा लामो ८८ किलोमिटरको रिङ रोड, लिङ्क रोड, भरतपुर महानगरको प्रशासकीय भवन, सिटी हल, शहरको मुख्य क्षेत्रमा बिजुलीको तार भूमिगत विद्युतीकरणको काम उज्यालो भरतपुरअन्तर्गत हाईमास्ट, मिनीमास्ट तथा स्मार्ट लाइट विद्युतीय शवदाहगृह निर्माण, नारायणी नदीमा आकर्षक सिग्नेचर ब्रिज निर्माणको सुरुवातलगायत काम भएको मेयरको सचिवालयले जनाएको छ ।

दाहालको नेतृत्व पाएयता भरतपुरमा ७ वर्षभित्र संघ, प्रदेश र महानगरको लगानीमा १ हजार ३ किलोमिटर सडक कालोपत्रे भएको छ । सिँचाइको दिगो र भरपर्दो व्यवस्था गर्न डिप बोरिङ, स्यालो बोरिङमार्फत ७ हजार ९ सय बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था मिलाइदिएकी छन् । यसले गर्दा भरतपुरका फाँटहरू १२ महिनै हरियाली देखिन्छन् ।

शिक्षातर्फ महानगरपालिकाभित्रका विद्यालयमा आधुनिक पक्की भवनहरू बनाइएका छन् । विद्यालय कलर कोड लागू गरिएको छ । शिक्षा क्षेत्रका जानकारहरूका अनुसार, शैक्षिक गुणस्तर वृद्धि गर्न महानगरपालिको दरबन्दी मिलान, १ सय ७९ जना स्वयंसेवक शिक्षक नियुक्त गरी पठनपाठनलाई सबल बनाउने प्रयास पनि महानगरले गरेको छ ।

सन् २०२४ मा भरतपुर भ्रमण वर्ष सञ्चालन गरेर महानगरले ११ लाख ६४ हजाभन्दा बढी आन्तरिक पर्यटक र २ लाख ८४ हजारभन्दा बढी बाह्य पर्यटक गरी जम्मा १४ लाख ४९ हजार पर्यटक भित्र्याएको थियो ।

युवा तथा खेलकुदतर्फ पनि महानगरका केही काम तारिफयोग्य देखिन्छन् । भरतपुर महानगरको सहआयोजनामा गरिएको यू– १९ महिला राष्ट्रिय क्रिकेट लिगबाट छनोट गरिएका महिला खेलाडीले ऐतिहासिक विश्वकप क्रिकेटमा छनोट भई नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए ।

 

स्वास्थ्यतर्फ मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरी नगरवासीको घरघरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कामको थालनी भएको छ । ‘एक वडा एक स्वास्थ्य केन्द्र’ भन्ने नीतिअनुरुप सबै वडामा आधुनिक स्वास्थ्य केन्द्रहरू निर्माण गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

देशकै मध्यभागमा रहेको भरतपुरको अहिले मुहार फेरिएको छ । मेयर जितेको पहिलो कार्यकाल रेनुका लागि कोभिड महामारीले चुनौतीपूर्ण थियो । तर, दोस्रो कार्यकाललाई उनले भरपूर सदुपयोग गरेको देखिन्छ । भरतपुर देशको केन्द्र भागमा रहेको महानगर हो । बजार क्षेत्रमा मात्रै बाटाघाटा थिए । ग्रामीण क्षेत्रमा कालोपत्रे थिएन । यतिबेला भित्री टोलका सडकसमेत कालोपत्रे भएका छन् ।

 

को हुन् रेनु दाहाल ?

२०७४ र २०७९ को स्थानीय चुनावमा निर्वाचित भएर ८ वर्ष भरतपुरको मेयरका रूपमा काम गरिसकेकी दाहाल भरतपुर– १४, शिवनगरको भीमसेन नगरमा २३ असार २०३३ सालमा जन्मेकी हुन् । उनी प्रचण्डकी दोस्रो सन्तान हुन् । सशस्त्र द्वन्द्वको समयमा बुवा प्रचण्ड र आमा सीतासँगै देशभित्रै तथा भारतका विभिन्न स्थानमा पुगेकी उनले युद्धकै कारण घर छोड्नुपर्दा एसएलसीभन्दा माथि औपचारिक अध्ययन गर्ने अवसर पाइनन् ।

२०५१ सालमा पार्टी सदस्यता लिएकी उनी २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन् । भूमिगतकालमा भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिला विभागको जिम्मेवारी वहन गरेको अनुभव उनीसँग छ । साथै, देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा उनी सक्रिय थिइन् । पार्टीको रोल्पा जिल्ला सह–इन्चार्जको रूपमा समेत उनले काम गरेकी छन् । दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् भने दोस्रो संविधानसभाको निर्वाचनमा भने नेपाली कांग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन् ।

प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिवसमेत भइसकेकी दाहाल काठमाडौं जिल्ला सचिवहुँदै हाल चितवन जिल्ला इन्चार्ज एवं भरतपुर महानगरपालिकाकी प्रमुख छिन् ।

कुनै बेला प्रचण्डकी छोरी भनेर चिनिएकी अनि प्रचण्डकै कारण अवसर पाएको आरोप खेपेकी दाहालले आज आफूलाई सक्षम सावित गरेर देखाएकी छन् । आफ्नो कामकै कारण अन्तर्राष्ट्रिय फोरमहरूमा समेत उनले स्थान पाइरहेकी छन् । देशमा निराशा मात्र छ भन्ने भाष्यका माझ सकारात्मक कामका लागि रेनु दाहालजस्ता जनप्रतिनिधिले प्रोत्साहन पाउनुपर्छ । शिलापत्रबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस