बुधबार, पुस २४, २०८१
  • होमपेज
  • समाचार
  • गण्डकी र त्रिशूली नदीको संगमस्थलमा देवघाट महामहोत्सव २०८१ को तयारी पूरा
समाचार

गण्डकी र त्रिशूली नदीको संगमस्थलमा देवघाट महामहोत्सव २०८१ को तयारी पूरा

चितवन । नेपालको धार्मिक, सांस्कृतिक, र आध्यात्मिक धरोहरको रूपमा प्रख्यात देवघाट धाम, गण्डकी र त्रिशूली नदीको संगमस्थलमा अवस्थित, ऐतिहासिक देवघाट महामहोत्सव २०८१ को तयारी पूरा भएको छ। विश्व जागरण महाअभियान ट्रस्टको आयोजनामा माघ महिनाभर विशेष कार्यक्रमसहित यो महोत्सव मनाइने भएको छ।
देवघाट धाम, हिन्दू धर्मावलम्बीहरूका लागि मोक्ष प्राप्तिको पावन स्थल र आदिप्रयागका रूपमा प्रख्यात, प्राचीनकालदेखि साधु-सन्तहरूको तपोभूमि र देवताहरूको स्नान क्षेत्र रहँदै आएको छ। अनेक सिद्ध महापुरुषहरूको कृपा र आशीर्वादले पवित्र यो भूमि धार्मिक पर्यटनको केन्द्रका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्दै आएको छ।
यस पटक आयोजन हुने देवघाट महोत्सवको मुख्य उद्देश्य देवघाट क्षेत्रलाई अझ व्यवस्थित र सुदृढ बनाउँदै धर्म, संस्कृति, र सामाजिक सेवाको अभिवृद्धि गर्नु हो। आयोजकहरूले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना अघि सारेका छन्। महोत्सवले देवघाटको धार्मिक, सांस्कृतिक, आर्थिक, र आध्यात्मिक महत्वलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।
यसपटकको देवघाट महामहोत्सवलाई माघ १ गतेका लागि सीमित नराखी महिना भर विशेष कार्यक्रम आयोजना गरिनेछ। बिभिन्न धार्मिक तथा सामाजिक संघ संस्था हरु समेतको सहकार्यमा धार्मिक कार्यहरू, अन्नदान, जलदान, र आगन्तुक भक्तजनका लागि विशेष भोजन व्यवस्था गरिनेछ। साथै, देवघाटका आश्रम र धार्मिक संस्थाहरूलाई आआफ्ना परिसर सजावट गरी दैनिक कार्यक्रम राख्न आयोजकहरूले आह्वान गरेका छन्।
महोत्सव अवधिभर आगन्तुक भक्तजनका लागि सुविधासहितको व्यवस्था गर्न तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन स्टलहरू राख्ने व्यवस्था मिलाइएको छ। स्टल लगाउन इच्छुकहरूले विगतका झैँ सिताराम संस्कृत माध्यमिक विद्यालयमा सम्पर्क गर्न सक्नेछन्।
आयोजकहरूले धार्मिक संघ-संस्थाहरू, समाजसेवीहरू, र सम्पूर्ण भक्तजनहरूलाई देवघाट महोत्सवलाई सफल बनाउन सहभागिता जनाउन आह्वान गरेका छन्। विशेष गरी महोत्सव अवधिभर भोजन, दान, र सेवा कार्यहरू सञ्चालन गरी भक्तजनहरूलाई सहयोग गर्न अनुरोध गरिएको छ।
शालाग्राम वाहिनी गण्डकी र शिवस्वरूपा त्रिशूली नदीको सान्निध्यमा निर्माण हुने देवघाट दिव्यधामले नेपालका हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभई विश्वभरका धार्मिक पर्यटकहरूको गन्तव्य बन्ने विश्वास गरिएको छ। यस पवित्र महोत्सवमा सहभागी भई पुण्य लाभ लिन तथा देवघाट क्षेत्रको धार्मिक महत्त्व प्रवर्द्धन गर्न योगदान गर्न आयोजकहरूले सबैलाई हार्दिक निमन्त्रणा गरेका छन्।
माघ महिनाभर विशेष कार्यक्रमका साथ सञ्चालन हुने देवघाट महामहोत्सव २०८१ ले देवघाटलाई धार्मिक, सांस्कृतिक, र पर्यटन दृष्टिले थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस