Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • मकै माँस्ने फौजी किरा मार्न बारुलो र ढुँसी
समाचार

मकै माँस्ने फौजी किरा मार्न बारुलो र ढुँसी

चितवन ।  मकै खेतीमा ठूलो समस्या बनेको फौजी किराको समाधान निकाल्न कृषि विज्ञहरु सफल भएका छन् । मकै मास्ने फैजी किरा मार्न रसायनिक विषादी हैन किरा नै प्रयोग हुने भएको छ । चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक तथा विद्यार्थीले किसानलाई सताउने किरा मार्ने त्यस्ता उपयोगी किरा प्रयोगशालामा धेरै उत्पादन गर्ने प्रविधि पत्ता लगाएका छन् ।

मकै माँस्ने फौजी किरा मार्न बारुलो र ढुँसी
प्रयोगशालामा तयार भएका बारुला राखेका यी ट्युबहरु नै किसानसम्म पुग्ने छन् ।

विज्ञापन

‘हामीले प्रयोगशालामा धेरै मात्रामा बारुलो र ढुँसी उत्पादन गर्न सकिने प्रविधि निर्माण गरेका छौं । त्यसलाई किसानसम्म पुर्‍याए मकैबालीमा ठूलो समस्या बनेको फौजी किरा नियन्त्रण गर्न सकिन्छ,’ विश्वविद्यालयका सहप्रध्यापक सुन्दर तिवारीले भने । विश्वविद्यालयले फौजी किराको अण्डा नष्ट गर्ने बारुलो र लार्भा नष्ट गर्ने ढुँसीलाई किसानसम्म पुर्‍याउने विधि पनि निर्माण गरेको छ ।

विज्ञापन

 

राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि वैज्ञानिक घनश्याम भण्डारीका अनुसार नेपालमा सताउदै आएको फौजी किरा अमेरिकाको रैथाने हो । यो सन् २०१६ मा पहिलो पटक अमेरिकाबाट अफ्रिकाको नाइजेरिया पुग्यो । त्यसको वर्ष दिनभित्र ४० भन्दा बढी देशमा फैलियो । २०१८ को मे महिनामा भारतको कर्नाटका राज्यमा पहिलो पटक देखियो यो किरा पछि भारतभर फैलिदै एसियाका थप देशमा गयो ।

नेपालमा चितवनसँग जोडिएको नवलपरासीको गैंडाकोटमा लगाएको मकैमा ०७६ वैशाख २६ गते पहिलो पटक यो किरा पत्ता लाग्यो । ‘अनि मकै खेती हुने तराइ र पहाड डुल्दै कम्तीमा ६६ जिल्लामा यो किरा पुगेको छ,’ भण्डारीले भने ।

फौजी किराको माउ अर्थात पुतली हावाको बहाव उसको अनुकुल भएको खण्डमा एक दिनमै एक सय किलोमिटर उड्न सक्छ । पुतलीको उमेर १४ देखि २२/२३ दिनको हुन्छ । ‘यो अवधिमा १५ सयदेखि दुई हजार किलो मिटर उड्छ । त्यसैले यो किरा जहाँ सुकै फैलन्छ,’ भण्डारीले भने । यही गुणले यसलाई फौजी किरा भनेको उनले बताए ।

 

मकै उम्रिएर तीन, चार पात भएपछि अर्थात् छरेको आठ १० दिनभित्रै यसले आक्रमण सुरु गर्छ । त्यसैले किसानहरुले सुरुबाटै यसको अनुगमन गर्नुपर्ने उनले बताए । यसले ८० देखि शतप्रतिसतसम्म उत्पादन नोक्सान गर्ने हुँदा किसानले ठूलो क्षति व्यहोरिरहेको बताए ।

सहप्रध्यापक तिवारीले फौजी किराको अण्डामा बारुलोले अण्डा पार्ने बताए । ‘फौजी किराले जहाँ अण्डा पारेको छ त्यसैमा गएर बारुलोले अण्डा पार्ने गर्छ । बारुलोको अण्डाले फौजी किराको पोषकतत्व लिन्छ र उसको चक्र पूरा भएपछि बारुलोको लार्भा निस्कन्छ,’ उनले भने, ‘यसरी फौजी किराको अण्डा नष्ट भएर बारुलोको जीवन सुरु हुन्छ । त्यसैले बारुलो फौजी किरा नियन्त्रणमा प्रभावकारी छ ।’

अण्डाबाट संयोगवश फौजी किराको लार्भा निस्केमा त्यसलाई नष्ट गर्न सक्ने ढुँसी पत्ता लगाएर त्यसलाई ठूलो मात्रामा उत्पादन गर्न सकिने विधि पनि विश्वविद्यालयको कृषि संकायको स्नातकोत्तर तह अन्तिम सेमेस्टरमा पढ्दै गरेकी विद्यार्थी निसा सुवेदीले विकास गरेकी छन् । बारुलो सम्वद्ध अध्ययन अनुसन्धानमा कृषि संकायको स्नातकोत्तर तह अन्तिम सेमेस्टरकै विद्यार्थी लक्ष्मण चौधरीको टोली जुटेको हो ।

विश्वविद्यालयको टोलीले प्रयोगशालामा विकास गरेको बारुला राख्ने सानो ट्युब बनाएको छ । त्यो ट्युब फौजी किराले सताएको खेतबारीका ठाउँठाउँमा राख्न सकिन्छ । विश्वविद्यालयले बारुलाका अन्य प्रजातिमध्ये फौजी किरा नियन्त्रण गर्न टेलिनोमस रिमस प्रजातिको बारुलो प्रभावकारी देखिएको पत्ता लगाएको थियो ।

एउटा ट्युबमा २५ सयसम्म बारुला रहन्छन् । जसमध्ये हजार १२ सय पोथी बारुला हुन्छन् । ‘एउटा ट्युबमा हुने बारुलालले फौजी किराका २४ हजार अण्डा नष्ट गर्न सक्छ भन्ने हाम्रो अनुमान छ । यो रासायनिक विषादीभन्दा सस्तो पनि पर्छ,’ सहप्रध्यापक तिवारीले भने । त्यसैगरी ‘रिले’ भन्ने ढुँसीलाई फौजी किराको लार्भा नष्ट गर्न प्रयोग गर्न सकिने पत्ता लागेको विश्वविद्यालयका अर्का प्राध्यापक मिनराज पोखरेलले बताए ।

 

फौजी किराको लार्भा मकैको गुभोमा बस्छ । त्यसैले गुभोमा समस्या देखिए झोल मल राखे सरह गुभोमा राख्न सकिन्छ । विश्वविद्यालयको कृषि संकायका डिन अर्जुन श्रेष्ठले यो प्रविधिलाई किसान समक्ष पुर्‍याउनका लागि ठूलो मात्रामा बारुला र ढुँसी उत्पादनमा लाग्ने साझेदार पनि खोजेको बताए । दिगो कृषिका लागि काम गर्ने एउटा संस्थासँग सहकार्य गर्ने सहमति भइसकेको छ ।

निजी क्षेत्र पनि यसमा संलग्न भए प्रभावकारी परिणाम आउने सम्भावना रहेको डिन श्रेष्ठले बताए । मुख्य गरेर मकैलाई आक्रमण गरे पनि फौजी किराले ३५३ जातका बालीबिरुवालाई आक्रमण गर्ने देखिएको सहप्रध्यापक तिवारीले बताए । यसको नियन्त्रणमा रासायनिक विषादीले भन्दा जैविक प्रविधि नै अपनाउनु उपयुक्त हुने उनले बताए ।

रामपुरमै रहेको नार्क अन्तर्गतको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले पनि फौजी किराको जौविक व्यवस्थापनका विषयमा खोज अध्ययन गरेको थियो । कृषि वैज्ञानिक घनश्याम भण्डारी फौजी किरा सुरुवातमा आक्रामक ढंगले फैलने र नोक्सान पनि धेरै नै गर्थ्यो । अहिले त्यो क्रम केही शिथिल भएको छ । ‘तर पनि यसको नियन्त्रणमा सवै लाग्न पर्छ । जैविक व्यवस्थापनका लागि ठूलो मात्रामा काम गर्नु पर्छ,’ भण्डारीले भने ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस