काठमाडौं । पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिकिन थालेका छन् । प्रचण्ड र बाबुरामको निकटता उपराष्ट्रपति नन्दबहादुर पुनका कारण सम्भव भएको बताइएको छ ।
माओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण गरेका भट्टराई पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा आबद्ध थिए । जसपाबाट कारबाहीमा परेपछि गएको साता प्रचण्ड र बाबुरामको भेटवार्ता भएको थियो । सो भेटमा प्रचण्डले बाबुरामलाई माओवादीमै फर्कन आग्रह गरेका थिए ।
विज्ञापन
माओवादीमा नफर्कने तर समाजवादी केन्द्र बनाएर अघि बढ्ने विषयमा बाबुराम सकारात्मक रहेका थिए । माओवादी वृत्तमा अहिले प्रचण्ड र बाबुराम फेरि एउटै पार्टीमा रहने चर्चा चल्न थालेको छ । प्रचण्डले पार्टीका नेताहरूलाई बाबुरामसहित नयाँ एकता हुने बताइरहेका छन् ।
विज्ञापन
प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, “बाबुरामजी र मैले दह्रो गरी हात मिलाएका छौँ । उहाँ पनि एक हुने कुरामा निकै सकारात्मक हुनुहुन्छ । चुनावअघि नै हामी एक हुन्छौँ होला । मिल्यो भने माधवजीहरूलाई पनि एकतामा ल्याउने हो ।”
संघ तथा प्रदेशको निर्वाचनअघि नै माओवादी र नेकपा (एकीकृत समाजवादी)लाई मिलाएर लैजाने प्रयास नेताहरूले गरिरहेका बताइएको छ । बाबुरामले आफूनिकट नेता र माओवादी नेताहरूलाई कम्युनिस्ट शब्द हटाउनुपर्ने बताउँदै आएका छन् । माओवादी नेताहरूले भने कम्युनिस्ट शब्द जसरी पनि राख्नुपर्ने बताउँदै आएका छन् ।
०७२ असोजमा बाबुरामले प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका थिए । बाबुराम र प्रचण्ड तीन दशक लामो राजनीतिक सहकार्यमा थिए । बाबुराम माओवादीका शीर्ष नेता रहँदै आएका थिए ।
माओवादीलाई ‘पुरानो घर’ र ‘भत्किएको घर’ भन्दै छोडेको घरमा नजाने बाबुरामले बताएका थिए ।
०५२ सालदेखि नै बाबुराम प्रचण्डसँगै थिए । पार्टीभित्र पटक–पटक दुई नेताहरूबीच अन्तरसंघर्ष हुँदै आएको थियो ।
प्रचण्ड र बाबुराम एउटै पार्टीमा हुने चर्चाले माओवादीभित्र नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । बाबुरामसँग रहेका पूर्वमाओवादी नेताहरूले पनि उनलाई प्रचण्डसँगै मिल्न दबाब दिइरहेको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु