काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको आरोप लगाउनुभएको छ ।
आज बिहीवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो । उहाँले सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा परेको दाबी गर्नुभयो । उहाँले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
विज्ञापन
अध्यक्ष लिङदेनले विदेशीसामु प्रमुख दलहरूले अनुसरण गरेको लम्पसारवादको नीतिले नेपाल विदेशी हस्तक्षेपको खेल मैदान बनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सत्तारूढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता सङ्कटमा छ । सरकारले असन्तुलन र अराजकतालाई प्रोत्साहन गरेको छ । अस्थिरताको बाटो सिर्जना गरेको छ । राज्य व्यवस्था बेथिति र विसङ्गतिको पुलिन्दा बनेको छ ।’
विज्ञापन
अध्यक्ष लिङ्देनले नेपाल आर्थिक सङ्कटमा रहेको भन्दै यस्तो बेला देशमाथि अर्को सङ्कट आइलाग्नसक्ने खतरा बढिरहेको बताउनु भयो । उहाँले सत्तारूढ दलहरू कानमा तेल हालेर कुर्सी जोगाउने र सत्तामा टिकिरहने अङ्क गणितमा व्यस्त रहेको बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु