संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे ।
विज्ञापन
उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु । समयले मागेमा म पुन नेतृत्वमा फर्किने नै छु । मैले गरेको कामलाई पछि आउने मन्त्रीले निरन्तरता दिने आशा राखेको छु ।’
विज्ञापन
यसवर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिर्न मोदीबाट बुद्धको जन्म नेपालमा नै भएको हो भनेर बोलेको र सो कार्यक्रमको आफू अध्यक्षता गरेको विषयलाई पनि उनले आफ्नो सफलता मानेका छन् ।
उनले नेपालमा पहिलो पटक ५ हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्रीबाट उद्घाटन गराइएको बताए । लुम्बिनीलाई प्राकृतिक बनको रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातीका ४० हजार वृक्षारोपण कार्य सम्पन्न गरेको बताए ।
पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरुमा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रंगरोगन सरसफाई गरिएको र अन्य वर्षको तुलनामा गत बर्षको शिवरात्री भव्य र सभ्य रुपमा सफल भएको उल्लेख गरे ।
नेपालबाट हराएका ८६ वटा मुर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको आलेले बताए ।
फेसबुक प्रतिक्रियाहरु