आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • नगर सभामा मेयरको कसम : भ्रष्टाचार गर्दिन, गरेँ भनेँ झाडु लाउनु
समाचार

नगर सभामा मेयरको कसम : भ्रष्टाचार गर्दिन, गरेँ भनेँ झाडु लाउनु

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले भ्रष्टाचाररहित ढंगले नागरिकलाई सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो हरिवन नगरपालिकाको छैटौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै बुढाथोकीले पदमा रहँदा आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई नछाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

विज्ञापन

‘यो सभामा म मठ, मन्दिर, गुम्बा, देवालय, मस्जिद सबैको नाममा कसम खाँदै भन्छु– म भ्रष्टचार गर्ने छैन, अरुलाई पनि गर्न दिइने छैन,’ मेयर बुढाथोकीले भने, ‘मैले भ्रष्टाचार गरेँ भनेँ झाडु लगाउनु होला, कठालो समाउनु होला।’

विज्ञापन

उनले नगरपालिकाले सञ्चालन गर्ने कुनै पनि योजनामा कमिसन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।

आफ्नो सम्पत्ती विवरण वार्षिक रुपमा सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘म कार्यपालिकाका साथी र राजनीतिक दलका नेताहरुलाई पनि वार्षिक रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गर्दछु।’

उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले विगतको भन्दा फरक र तडकभडकपूर्ण जीवनशैली अपनाए प्रश्न गर्न पनि आम नागरिकलाई आग्रह गरे। ‘हामी जनताका सेवक हौँ, मालिक होइनौँ,’ बुढाथोकीले भने, ‘पदमा रहँदा हाम्रो जीवनशैली बदलिनु हुन्न। त्यस्तो पाउनु भयो भने प्रश्न गर्नु होला।’

मेयर बुढाथोकी हरिवन नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित एकमात्रै जनप्रतिनिधि हुन्। गएको ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कुनै पनि वडामा माओवादी केन्द्रका उम्मेदवार वडा सदस्यमासमेत विजयी नहुँदा पनि बुढाथोकी भने एमाले उम्मेदवारलाई पराजित गर्दै मेयरमा विजयी भएका थिए।

मेयर बुढाथोकीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट नगर सभाले सर्वसम्मतीबाट पारित भएको छ।

एमालेबाट निर्वाचित उपमेयर हरिमाया घलानले सभामा मेयर बुढाथोकीद्वारा प्रस्तुत हरिवन नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गर्न प्रस्ताव गरेकी थिइन्। उनको प्रस्ताव अनुसार सभामा उपस्थित सबैले ताली बजाउँदै बजेट पारित गरेका थिए।

हरिवन नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७६ करोड ६८ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ।

जसमा संघीय सरकारबाट ५७ करोड ७७ लाख, संघीय राजश्व बाँडफाँडबाट ११ करोड १६ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत ४ करोड, आन्तरिक स्रोतबाट २ करोड, प्रदेश सरकारबाट एक करोड ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ।

नगर सभामा पूर्वमन्त्री तथा संघीय सांसद रामेश्वर राय यादव, प्रदेश २ का सांसद डिल्लीप्रसाद उप्रेती, विभिन्न राजनीति दलका नगरस्तरीय नेताहरुको सहभागिता थियो।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस