नेपाली फिल्म उद्योगमा पृथक परिचय बनाएकी अभिनेत्री हुन् सुरक्षा पन्त। बुटवलमा जन्मिएकी सुरक्षा स्कुले जीवनदेखि नै पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन्। पढाइसँगै वक्तृत्वकला, वादविवाद र खेलकुद सुरक्षाको रोजाइका विषय थिए।
साथी रुचाउने सुरक्षालाई उनका बुवा आमाले पढाइ तिम्रो काम हो भनेर कहिल्यै सम्झाउनुपरेन। घरमा पढ्ने र घर बाहिर आफूलाई परिचित गर्न रुचाउने सुरक्षा सानैदेखि अन्य केटाकेटीभन्दा फरक देखिन्थिन्।
विज्ञापन
घरभित्रको उनको व्यवहार हेरेर उनका बाबुआमा उनलाई एकलकाँटेको उपनाम दिन्थे। तर, घर बाहिर निस्किएपछि उनी निक्कै जुझारु र उत्साहित देखिन्थिन्।
विज्ञापन
उनको त्यो जुझारुपन आज पनि उस्तै देखिन्छ।
बुटवलमा जन्मिए पनि सुरक्षाको पढाइ भने काठमाडौँबाटै अघि बढ्यो। काठमाडाैँको इन्जिनियरिङ कलेजमा तेस्रो वर्षको पढाइ चल्दै गर्दा सुरक्षा ‘इमेज भिजे हन्ट’मा सहभागी भइन्। प्रतियोगिताको ‘टप थ्री’मा परेकी पन्तको फिल्मी करिअर त्यही प्रतियोगिताले जुरायो।
प्रतियोगिता सकिएपछि सुरक्षालाई इमेज टेलिभिजनबाट जागिरको प्रस्ताव आयो। पढाइमा राम्रो गर्ने सपना बोकेर अध्ययन गरिरहेकी उनले जागिरको प्रस्ताव अस्वीकार गरिन्। तर, त्यही प्रतियोगिताकाे ‘अडिसनको टेप’ हेरेपछि निर्देशक आलोक नेम्वाङले सुरक्षालाई फिल्ममा अफर गरे।
सानैबाट हिरोइन बन्न सपना देखेकी पन्तले नेम्वाङले गरेको फिल्मकाे प्रस्ताव स्वीकार गर्न सकिनन्। उनले पढाइलाई कारण देखाएर आलोकको प्रस्ताव अस्वीकार गरिदिइन्। तर, सुरक्षामा सम्भावना देखेका नेम्वाङ उनको क्षमतालाई खेर जान दिने पक्षमा थिएनन्।
एक वर्षपछि आलोकले सुरक्षालाई पुनः फोन गरे। आलोकले फोन गरेको त्यो दिन सुरक्षाको परीक्षा सकिएको थियो।
आलोकले पुनः फिल्मका लागि प्रस्ताव राखे। सुरक्षाले पनि प्रस्ताव स्वीकारिन्।
आलोकले निर्देशन गरेको ‘अझै पनि’बाट सुरु भयो सुरक्षाको फिल्मी करिअर।
नहिँडेको बाटो, नचिनेका मान्छे, थाहा नभएको उद्योग सुरुवाती दिनमा सुरक्षा निक्कै अलमलमा परेकी थिइन्। सुरक्षाले मनोरञ्जन उद्योगको बाटो राम्रोसँग नठम्याउँदै आलोक नेम्वाङले आत्महत्या गरे।
त्यसपछि सुरक्षाको अलमल झनै बढेर गएको थियो। तथापि, सम्हालिएर हिँड्नुको विकल्प उनीसँग थिएन। उनले फिल्मी यात्राको बाटो छोडिनन्।
फिल्मको अफर बढ्न थालेकै बेला सुरक्षाले टेलिभिजन यात्रा सुरु गरिन्। उनले ‘न्युज २४’, ‘सगरमाथा टिभी’ र ‘कान्तिपुर टिभी’काम गरिन्। जसले सुरक्षालाई क्यामरा फेस गर्नेदेखि लिएर धेरै कुरामा निखारता थपिदियो। उनी भन्छिन् ‘मैले टिभीमा काम गरेँ। आफूलाई ग्रुमिङ गरेँ। डेढ वर्ष बितेको पत्तै पाइनँ।’
सन् २०१७ ताका साम्तेन भुटियाले सुरक्षालाई ‘सुस्केरा’ फिल्ममा अवसर दिए। सुरक्षाले अभिनय गरिन्। तर, यो फिल्म अहिलेसम्म रिलिज हुन सकेको छैन। यही बीचमा दीपेन्द्र के खनालले फिल्म ‘धनपति’का लागि सुरक्षालाई अफर गरे। सुरक्षाले अभिनय गरिन्। फिल्म ठिकै चल्यो। फिल्मभन्दा धेरै सुरक्षा चलिन्। त्यसपछि भने सुरक्षाले पछाडि फर्किएर हेर्नु परेन।
फिल्मी यात्रा सुरु गरेको छोटो समयमानै सुरक्षाले आफूलाई अब्बल अभिनेत्रीका रूपमा उभ्याउन सफल भइन्।
उनले अभिनय गरेका आठ चलचित्र प्रदर्शन भैसकेका छन्। मनोरञ्जन उद्योगमा केहीले राम्रो व्यापार गरे, केहीले कम। सुरक्षाको भने सबैजसो चलचित्रमा चर्चा भयो। दीपेन्द्र के खनालकै ‘आमा’ चलचित्रले त सुरक्षाको चर्चा निक्कै माथि पुर्यायो।
फिल्मसँगै सुरक्षाले म्युजिक भिडियोमा पनि अभिनय गरिन्। म्यूजिक भिडियोमा पनि उनी दर्शक तथा निर्देशकको रोजाइमा पर्न सफल भइन्। फिल्म उद्योगमा उनले गरेको अब्बल अभिनयकै कारण उनले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार समातिन्। सधैँजसो विवादमा तानिने अवार्डले आफ्नो गरिमा जगाएको फिल्मकर्मीहरूले टिप्पणी गरेका थिए।
एक समय सुरक्षा समाजसेवामा केन्द्रित थिइन्। आर्थिक सहयोग गर्थिन्। हिजो आज उनको सेवाको शैली फेरिएको छ। पछिल्लो समय सुरक्षा समय र परामर्श मार्फत सेवा गरिरहेकी छिन्।
सानैदेखि फिल्ममा रुची राख्ने सुरक्षा अभिनेत्रीभन्दा पहिला आफू राम्रो दर्शक भएको बताउँछिन्। ‘फिल्म हेर्दा हेर्दै फिल्मप्रतिको मोह अभिनयमा रिफ्लेक्ट भएको हो’ सुरक्षाले सुनाउँछिन्।
अभिनयको भोक मनमा जागेदेखिनै सुरक्षा यसका लागि दिनरात खट्न तयार थिइन्। फिल्म हेर्दै जाँदा सुरक्षालाई फिल्म क्षेत्रमा प्राकृतिक र जीवन्त अभिनयको खाँचो महसुस गर्थिन्। त्यही महशुसले नै आफूले फिल्मलाई लक्ष्य बनाएको सुरक्षा बताउँछिन्।
सुरक्षाले निर्वाह गरेका हरेजसो भूमिकाको चर्चा हुने गरेको छ। यसका पछाडि केले काम गरेको छ त? सुरक्षा भन्छिन् ‘सचेतताले।’
सुरक्षा हरेक फिल्मको अफरपछि स्टोरी हेर्छिन्। आफूले स्टोरीअनुसार न्याय गर्न सक्ने नसक्ने हेर्छिन्। अनि हेर्छिन् अघिल्लो चलचित्र भन्दा फरक भूमिका छ कि छैन। त्यसपछि चलचित्रमा काम गर्ने निर्णय लिने गरेकी सुरक्षा त्यसैले सफल छिन्।
उनले छानेका धेरैजसो कथा महिला केन्द्रित हुन्छन्। आफूले निर्वाह गरेको भूमिकाले समाजमा परिवर्तनको सानो सन्देश मात्रै भए पनि छोड्नु पर्छ भन्ने कुरामा सुरक्षा सचेत छिन्। भन्छिन्, ‘मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन्। ‘आमा’फिल्मबाटैै छोराछोरी बराबरी भन्ने प्रभाव परेको छ समाजमा।’
सुरक्षालाई अब भने शारीरिक रूपमा चुनौतीपूर्ण भूमिका निर्वाह गर्न मन छ। उनी दुई दिन काम गरेर दर्शकलाई सम्झना छोडेर उद्योगबाट हराउन फिल्ममा आएकी होइनन्। उनी अझै केही समय फिल्ममै केन्द्रित हुने बताउँछिन्। भन्छिन् ‘अभिनय गरेरै जीवन निर्वाह गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु । इन्जिनियरिङलाई कला क्षेत्रमै मर्ज गर्न पनि सक्छु।’
उनको सोच फिल्मको कथा लेख्ने वा चलचित्र बनाउने पनि छ। उनी भन्छिन्, ‘मैले कथा लेखेँ वा चलचित्र बनाएँ भने मेरो डिजाइनमा आर्ट पनि देखिनेछ।’
अहिले उनी चलचित्र ‘के घर के डेरा’को छायाँकनमा व्यस्त छिन्।
सुरक्षाले अभिनय गरेका चार फिल्म प्रदर्शनका लागि तयार भएर बसेका छन्। अभिनयमा जीवन्तता सुरक्षाको अर्को नाम हो। चलचित्र ‘आमा’मा अभिनय गर्दा उनले पात्रको जीवन्तताकै लागि आफ्ना लामो कपाल खौरिन्। जसले उनलाई निक्कै चर्चा पनि दिएको थियो। खुइलिएको टाउकाले उनलाई चर्चा मात्रै दिएन, पीडा पनि दिएको थियो। भन्छिन् ‘त्यो क्षण मेरा लागि केबल पात्रमा सीमित थिएन, सुटिङका क्रममा जब मेरो कपाल काट्न थालियो, मन सिरिङ्ग भयो। लाग्यो, मेरै परिवारको कोही बित्नुभएको थियो। त्यही कुरा मनमा छोएर मासु खान मन लागेन।’
कपाल काटेपछि उनले आफूलाई हलुका पनि महसुस गरेकी थिइन। उनी भन्छिन् ‘कपाल काटेपछि मेरो शरीरको आधा बोझ हल्का भएको थियो। कपाल नभएपछि एक किसिमको आत्मबल पनि पाएँ। मानौँ, पहिले मेरो त्यो आत्मबल कपालभित्र लुट्पुटिएर बसेकाे थियो।’
उनले कपाल खौरिँदा आमालाई भने निकै पिर परेको थियो।
लामो समयसम्म हरेक पटकको फोन वार्तामा उनकी आमा ‘कपाल कति पलायो’ भनेर प्रश्न गर्थिन्। आमाको चिन्ता छोराछोरीलाई लिएर परिवर्तन भैरहन्छन्। सुरक्षाकी आमाको चिन्ता पनि उनलाई लिएर स्थिर छैन। जसरी स्थिर छैन, चलचित्रमा सुरक्षाको भूमिका।
व्यवसायिक तथा कलात्मक दुवै चलचित्रमा अभिनय गर्न तयार सुरक्षा कलालाई पैसासँग दाँज्न चाहन्नन्।
इञ्जिनियरिङकी विद्यार्थी सुरक्षा फिल्म बाहिर रहँदा नेपाली फिल्ममा थुप्रै खाली ठाउँ देख्थिन्। जुन खाली ठाउँले आफूलाई पर्खिरहेको उनलाई लाग्थ्यो। उनले खाली देखेको त्यो ठाउँमा अरू कलाकार काम गर्न तयार देखिँदैनथे।
अरु कलाकारले बेवास्ता गरेको त्यही अधुराे काम पूरा गर्न फिल्म उद्योगमा आएको बताउने सुरक्षा फिल्मबाट सिकेका कुरा अन्य क्षेत्रबाट सिक्न नसक्ने अनुभव सुनाउँछिन्।
सुरक्षा फिल्म उद्योगलाई आफ्नो जीवनको पाठशाला ठान्छिन्।
फेसबुक प्रतिक्रियाहरु