काठमाडौँ । अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरलाई धेरैले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीभन्दै दावि गरेका छन् ।
एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो । सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र हैन, राजनीतिक लेखसमेत लेख्ने प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले समेत सो फोटोसहित मन्त्री झाँक्रीको घर लेख्दै ट्विट गरेका रहेछन्।
विज्ञापन
फेसबुकमा पनि यो फोटो सयौँले सेयर गरेका छन्। तर झाँक्रीको घर भनिएको तस्वीर अर्कै भएको पाइएको छ । विदेशीले डिजाइन बनाएर राखेको फोटोलाई नेपालमा मन्त्रीको घर भनेर भाइरल बनाइएको हो ।
विज्ञापन
के हो तथ्य ?
यो फोटोको विषयमा तथ्य जाँच गर्ने क्रममा हामीले यसलाई गुगलमा रिभर्स इमेज सर्च गरी हेर्यौँ। त्यस क्रममा यही फोटो थुप्रै विदेशी वेबसाइटहरुमा पनि प्रयोग भएको देख्यौँ।
केन्याको रस्मिया होम डिजाइन लिमिटेडको वेबसाइटमा एक्सटेरियर होम डिजाइन्स अन्तर्गत विभिन्न डिजाइनका घरहरुको फोटोमा यही घरको फोटो समेत राखिएको छ। त्यसैगरी भारतको मेकमाइहाउस डट कम वेबसाइटमा पनि तीन तल्ले घरको डिजाइन भन्दै यही घरको फोटो राखेको भेटिएको छ।
त्यसैगरी उज्बेकिस्तानको ओएलएक्स डट युजे नामको वेबसाइटमा पनि तास्कन्द रिजनको भन्दै यही फोटो राखेको भेटिएको छ। मोरक्कोको वेबसाइट एभिटो डट एमएमा पनि मोरक्कोको माराकेचमा रहेको अपार्टमेन्ट दावी गर्दै यही घरको फोटो राखेको भेटिएको छ।
इरानको वेबसाइट डिभार डट आइआरमा पनि यही फोटो प्रयोग भएको भेटियो। गुगलमा खोज्दा अरु पनि थुप्रै वेबसाइटहरुमा यही फोटो प्रयोग भएको देखियो ।
यो घर भारतदेखि केन्या, उज्बेकिस्तान, मोरक्को, इरानबाट सञ्चालित वेबसाइटहरुमा पनि भेटियो। गुगल सर्च गर्ने क्रममा हामीले सामाजिक सञ्जालमा भाइरल भएकै हुबहु फोटो थुप्रै वेबसाइटहरुमा पनि भेट्यौँ। तसर्थ यो घर मन्त्री झाँक्रीको भनी गरिएको दावी मिथ्या भएको देखिन्छ। माइसंसारबाट
फेसबुक प्रतिक्रियाहरु