नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आएमा नयाँ ढंगले जान सकिने बताएका छन् ।
एकपटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी नहुने र सच्चिएर आएमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
विज्ञापन
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा नेता श्रेष्ठले वामपन्थी दलबीच फेरि सहकार्य हुन सक्ने बताएका हुन् । स्थानीय तहको चुनावपछि फेरि वामपन्थी दल मिल्ने वातावरण बनेको भन्दै चर्चा भइरहेको छ ।
विज्ञापन
‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गर्यो, २–२ पटक प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमन थियो । हामीले संघर्ष गरेर संविधान र लोकतन्त्रलाई ल्यायौँ । फेरि त्यस प्रकारको प्रतिगामी कदम चाल्ने दुस्साहस कसैले नगरोस् । पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनु पर्ने स्थिति नबनोस्,’ श्रेष्ठले भने ।
अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण २०५९ सालमा प्रतिगमन भए पनि अहिले उनीसँग सहकार्य गरिरहेको भन्दै एमालेसँग पूर्वाग्रह नराखिने बताए । ‘एकपटकको प्रतिगामी कदम चालेका शक्ति सधैँ त्यस्तै हुन्छ भन्ने होइन, नयाँ ढंगले अगाडि बढ्न सकिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा उहाँको कारणले राजामा शक्ति गएर प्रतिगमन भएको थाहा छ, नयाँ प्रतिगमनसँग जुध्न उहाँको नेतृत्वमा गठबन्धन बनायौँ र अहिले प्रधानमन्त्री बनाएका छौँ,’ श्रेष्ठले भने, ‘एकपटक प्रतिगमनमा संलग्न भएको शक्तिले नयाँ ढंगले सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जाउँ भनेर आत्मसमीक्षा गरेर जाने तत्परता प्रदर्शन गर्यो भने नयाँ ढंगले जान सकिन्छ । कसैले पनि हटका आधारमा पूर्वाग्रहका आधारमा सोच्ने काम गर्नु हुन्न ।’
२०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन भएसँगै तत्कालीन नेकपा विभाजन भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु