सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनुलाई भन्दा एमालेलाई धेरै क्षति गरे जगन्नाथले, यस्तो छ तथ्यांक
समाचार

भरतपुरमा रेनुलाई भन्दा एमालेलाई धेरै क्षति गरे जगन्नाथले, यस्तो छ तथ्यांक

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । यहाँ सत्ता गठबन्धन र राप्रपासहितको नेकपा (एमाले)को गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ ।

मनोनयनपत्र दर्ताको अन्तिम समयसम्म नेपाली कांग्रेस आफैँले भरतपुरको प्रमुख दाबी गरे पनि अन्तिम समयमा छाड्नुपरेको थियो । तर, कांग्रेसका जगन्नाथ पौडेलले ‘बागी’ उमेदवारी दिए । कांग्रेस नेताहरूले अन्तिम समयसम्म प्रयास गर्दा पनि उनले उमेदवारी फिर्ता लिएनन् । स्वतन्त्र रूपमा भुइँकटहर चुनाव चिह्न लिएर निर्वाचनमा होमिए ।

विज्ञापन

जारी मतगणनामा उनले १२ देखि १५ प्रतिशतसम्म मत पाइरहेका छन् । नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल दोस्रोपटक चुनावी प्रतिस्पर्धामा छिन् । एमालेबाट विजय सुवेदीलाई मेयर उमेदवार छन् ।

विज्ञापन

 

एमालेका अरू नेताहरू पनि मेयरका आकांक्षी थिए । कांग्रेसभित्रको असन्तुष्टि र बागी उमेदवार समेत भएकाले त्यसको फाइदा आफूलाई हुने एमाले आकलन थियो । तर, अहिलेसम्मको परिणाम एमालेका लागि सकारात्मक आएको छैन । भरतपुरमा अझै एक लाख मत गन्न बाँकी छ ।

एमालेले अझै भुइँकटहरको आस गरेको छ । तर, डर एमालेकै मतदाताको छ । कारण हो, हालसम्म गणना भएका ६ वडामा एमाले वडाध्यक्षले प्राप्त गरेको मत विजय सुवेदीले नपाउनु ।

त्यसो त एमालेभित्र अन्तर्घात भएको चर्चा भरतपुरमा चल्न थालेको छ । गणना भएका वडामा रेनुले अनपेक्षित नतिजा ल्याएको कतिपयको बुझाइ छ ।

यस्तोमा एमाले अझै स्वतन्त्र उमेदवारले अरू वडामा कांग्रेसको मत काट्नेमा आशावादी छ । एमालेको नजर वडा नम्बर–९, १०, ११ मा छ । ती वडामा एमालेको बलियो प्रभाव रहेको बताइन्छ । ती वडाबाट एमालेले ठूलो अग्रता लिन नसके एमालेका लागि मेयरको यात्रा कठिन बन्न सक्ने विश्लेषण तल्लो तहमा छ ।

यसबाहेक राप्रपाको साथ पनि एमाले उमेदवारले नपाएको चर्चा छ । राप्रपाका स्थानीय नेता–कार्यकर्ताले पनि एमालेको मत उपमेयरमा नआएको गुनासो गरेका छन् ।

अघिल्लो निर्वाचनमा एमालेले पाएको मत यसपालि घटेको देखिन्छ । अब पौडेलले रेनुको मत काटेको अवस्था र ९, १०, ११ वडामा भारी मतान्तर कायम गर्न सके आफूहरूका लागि सहज हुने एमालेजनको बुझाइ छ ।

कतिपय नेता–कार्यकर्ताहरू एमालेको मत रेनुले पाएको बताउँछन् । उनीहरू भन्छन्, “स्वतन्त्र उमेदवारले ४३ सय मत ल्याउँदा पनि रेनु १४ सयले अगाडि हुनु भनेको उनले एमालेको मत पाउनु हो । त्यसैले अन्तिमसम्म पनि मेयरको दौड रोचक हुनसक्छ ।”

अहिलेसम्म २६ हजार ४२६ मतगणना हुँदा रेनुले नौ हजार ५४२ मत पाएकी छन् । एमालेका सुवेदीले आठ हजार ८७ र स्वतन्त्र उमेदवार पौडेलले चार हजार ३१५ मत ल्याएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस