चितवन । भरतपुर महानगरको स्थानीय तहको निर्वाचनले यतिबेला देशैभरि सबैको ध्यान तान्न सफल भएको छ । चर्चा चुलिएसँगै भरतपुर महानगरको चुनावी गतिविधी रोचक बन्दै गएको छ । दुई ध्रुवमा बाँडिएर चुनावी गतिविधीमा संलग्न भएका दलहरुले प्रचारप्रसार र घरदैलोलाई तीव्रता दिएका छन् ।
देशभरि नै पकड बनाउन सफल भएको सत्तारुढ ५ दलिय गठबन्धनले आफुहरु प्रतिगामी विरोधी शक्ति भएको भन्दै चितवनका मतदाताहरुलाई आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन् । उता राप्रपासँग गठबन्धन गरेको एमालेले पनि प्रचारप्रसारलाई तीव्रता दिईरहेको छ ।
विज्ञापन
निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारहरु विकास र समृद्धिका खाकाहरु प्रस्तुत गर्दै मतदाता रिझाउन व्यस्त छन् । त्यसमा पनि भरतपुर महानगरको प्रमुख पदमा निर्वतमान मेयर रेनु दाहालले उम्मेदवारी परेपछि देशवासीको ध्यान नै अहिले भरतपुर तर्फ सोझिएको छ ।
विज्ञापन
५ वर्ष अघि दाहालले चुनाव जित्दै गर्दा अधिकांश नगरबासीले भरतपुरको बिकासमा आशंका व्यक्त गरेका थिए । तर अहिले तिनै मतदाताहरु महानगरको विकास देखेर दंग छन् । अवसर पाए भने पुरुष मात्र नभई महिला पनि उत्तिकै सबल र सक्षम छन् भन्ने नुमना दाहालले प्रस्तुत गरेकी छिन् ।
दाहालको नेतृत्वमा गएको ५ वर्षमा स्थानीय स्तरमा बिकासको लहर देखिएको छ । यसबाट मतदाताहरु प्रसन्न छन् । ‘घर अगाडीको यो सडक वर्षामा हिलाम्य र अन्य बेला धुलाम्य मात्र हुन्थ्यो, कच्ची सडक ग्राभेल पनि के हुन्थ्यो र भनेर सोचेकी थिए, पश्चिम चितवनका पार्वती विकले भनिन्,‘तर सोचेभन्दा फरक भयो, अहिले त कालोपत्रे नै भएको छ, आश्चर्यचकित छु ।’
भरतपुर २९ कविलास आसवीर तामांगको प्रतिक्रिया पनि उस्तै छ । उनले भने,‘यो पहाडी गाविसमा खानेपानी र स्वास्थ्य चौकीको धेरै समस्या थियो, तर अहिले ३ वर्ष यता धेरै हदसम्म सुविधा पाएका छौं ।’ उनले अघि भने, ‘विगतमा स्थानिय जनप्रतिनिधले गर्न नसकेको विकास महानगर भईसकेपछि मेयर रेनु दाहालको अगुवाईमा भएको छ, महिला भएर के भयो, विकास गर्ने भिजन र उच्च मनोबल हुनुपर्छ, त्यो उहाँमा मैले पाए ।’
वितेको पाँच वर्षको कार्यकालमा निवर्तमान महानगर प्रमुख दाहाल र उनको टिमले गरेको मेहनतका कारण यो भरतपुरको चर्चा राष्ट्रिय स्तरमै चुलिएका ेछ । वितेको पाँच वर्षमा भरतपुरमा ६२२ किलोमिटर कालोपत्रे भएको छ । ४५० किलोमिटर सडक स्तरीय ग्राभल गरिएको छ ।
नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोडको आठ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र ४०.५५ किलोमिटर चक्रपथ निर्माण भइ सक्ने अवस्थामा छ । त्यस्तै गोन्द्राङ पुल्चोक ६ लेन सडक, नारायणी नदीको तटबन्धन, अन्तर्राष्ट्रिय रंगशाला जस्ता आयोजना पनि अघि बढेका छन् ।
स्वास्थ्य, शिक्षा, कृषिलाई लक्षित गरि उनले ल्याएको साना योजनाले मूर्तरुप पाउदा स्थानीय समेत खुसी छन् । महानगरको मेयर पदमा उनले पुनः उम्मेदवारी दिएपछि महिला मतदाता उनको पक्षमा मतदान गर्न झनै हौंसिएका छन् ।
स्थानिय महिलाहरुको भन्छन्, ‘उनको बुवा प्रचण्ड एउटा राष्ट्रिय पार्टीको प्रमुख छन् । उनको अग्रसरमा भरतपुरमा धेरै बजेट आए होलान । तर स्थानिय स्तरको विकासको खाका त उनका बुवा प्रचण्डले कोरेनन्, रेनुले आफ्नै क्षमताले गरिन्, समग्र नगरको विकासमा उनको ठुलो योगदान छ, त्यसैले अहिले बाँकी भएका अधुरा विकास योजनाहरु पुरा गर्न पनि एक कार्यकाल उनलाई जिताउनै पर्छ।’
फेसबुक प्रतिक्रियाहरु