काठमाडौं । सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी साझा उमेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
शनिबार नेपाली कांग्रेसनिकट बुद्धिजीवी पेसाकर्मी परिचालक समिति काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिंहले आफू मेयरमा विजयी भएमा ‘काठमाडौं महानगरलाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने’ बताएकी हुन् । उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न आफू लागिपर्ने उल्लेख गरिन् ।
विज्ञापन
विज्ञापन
सिंहले सबै महिलाको भावनालाई कदर गरेर अघि बढ्ने योजना पनि सुनाइन् । “मेरो पहिलो प्रतिबद्धता भनेको सुशासन हो । घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनुपर्नेछ,” उनले भनिन्, “आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।”
सिंहले आफूलाई नेपाली कांग्रेसले सर्वसम्मत रूपमा मेयरको उमेदवार बनाएको बताइन् । गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उमेदवारी नभएको उनको भनाइ थियो ।
उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका गणेशमान, मंगलादेवी र प्रकाशमानको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन् ।
फेसबुक प्रतिक्रियाहरु